• ९ जेठ २०८१, बुधबार

सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्छ : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषदका सदस्यहरू ।

काठमाडौं, असोज १ गते । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न हामी सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो । 

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

साथै उहाँले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वमा शान्ति–सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै हामी सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । 

बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिनुभयो ।

छलफलमा सहभागी  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति–सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको भएको जानकारी कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीको सचिवालय दिएको छ ।