• ११ मंसिर २०८१, मङ्गलबार

शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गरिने : मन्त्री गुरुङ

blog

फाइल तस्विर ।

काठमाडौं, असोज १ गते । शङ्करदेव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गर्न आफूले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।

काठमाडौँ प्रदेश सभाका सांसद तथा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठले शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गर्नका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराउन तथा आवश्यक पूर्वाधारका हरेक विषयमा सहयोग रहने बताउनुभयो । मन्त्री गुरुङले पनि सांसद दीपेन्द्र श्रेष्ठले राखेका विषयमा पूर्ण सहयोग रहने बताउनुभएको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव लीलामणि पौडेलले शङ्करदेव क्याम्पसलाई पायोनियर स्वायत्त कलेज बनाई विश्व बजारमा व्यवस्थापनको पायोनियर कलेजका रूपमा विकास गर्नुपर्ने अवधारणा राख्नुभयो । उहाँले आफूपनि शङ्करदेव क्याम्पसको पूर्व विद्यार्थी भएको र पूर्व विद्यार्थी समाजले गरेका हरेक गतिविधिमा नजिक रहेर सहयोग गरिरहेको बताउनुभयो । 

शङ्करदेव क्याम्पसका पूर्व सभापति शुभराम बस्नेतले पूर्व विद्यार्थी समाज शङ्करदेवका अध्यक्ष राजीव विक्रम थापाको नेतृत्वमा भवन निर्माणदेखि कोभिडको समयमा पहिलो कलेजका रूपमा अनलाइन टिचिङ व्यवस्था तथा विद्यार्थीहरूलाई विभिन्न कम्पनीमा इन्टर्नको व्यवस्था गरी म्यानेजमेन्टमा अब्बल कलेको रूपमा स्थापित गर्न सहयोग गरेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा पूर्व मन्त्री तथा सांसद हृदयराम थानी, पूर्व सांसद नवराज सिलवाल, प्रदेशसभाका सांसद तथा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्य सचिव लीलामणि पौडेल, पूर्व स्ववियू सभापति शुभराम बस्नेत, स्ववियू सभापति सुशान्त बस्नेत तथा क्याम्पस प्रमुख कृष्ण आचार्यले साधारण सभाको सफलताको शुभकामना दिनुभयो । 

साधारण सभाको बन्दसत्रमा पूर्व विद्यार्थी समाज शङ्करदेवका अध्यक्ष राजीव विक्रम थापाले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष कन्हैया भक्त राजभण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा विधान संशोधनका लागि पेस गरेको प्रतिवेदन पनि सर्वसहमतिमा पास गर्नुभयो भने कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाज सदस्य अञ्जना अर्यालले गर्नुभयो ।

यस्तै, शङ्करदेव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा राजीव कुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज शङ्करदेव क्याम्पसमा सम्पन्न साधारण सभाबाट थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।

शङ्करदेव क्याम्पसमा बसेको साधारण सभाले सचिवमा कन्हैया भक्त राजभण्डारी, कोषाध्यक्षमा अञ्जना अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, सदस्यहरूमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृत कुमार पन्थी, सन्तोष गुरुङ, रजन के.सी., शिव पाठक, अन्जित खड्का र राजेश पाठक निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा. सजीव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।