• १९ वैशाख २०८१, बुधबार

सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक

blog

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदै । तस्विर : सामाजिक सञ्जाल ।

बैतडी, असोज १ गते । आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धूमधामसँग मनाउने प्रचलन छ ।

विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापरयुगमा विषाक्त दुध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पूतनालाई भगवान् श्रीकृष्णले दुध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुसीयालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ । 

सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलन छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरू थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठुलो बुढी बन्ने गर्छन् । 

गाई गोठालाहरूले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरूबाट निर्मित बुढी पूतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पूतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गरेमा पशुचौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार-३ श्रीकोटका गणेश विष्टको भनाइ छ । 

ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रुखका हाँगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ । यो बुढीलाई नै आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ । पूतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाई साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पूतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन् । 

त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो-बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलनहरू लोप हुँदै गएका छन् । रासस