• १४ मंसिर २०८१, शुक्रबार

‘कार्यान्वयन हुने योजना समेटिने’

blog

पोखरा समाचारदाता

पोखरा, असोज १ गते । गण्डकी प्रदेश सरकारले चालु वर्षका लागि दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दै छ। प्रदेश नीति तथा योजना आयोगले उक्त योजना निर्माणका लागि तयार गरेको अवधारणपत्र पारित गरिएको छ।

प्रदेश मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले अवधारणापत्र पारित गर्ने निर्णय गरेको हो। बढ्दो बसाइँसराइ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाव दिएको छ।

मुख्यमन्त्री पाण्डेले अब कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्नेमा जोड दिनुभएको हो। गर्नै नसकिने महत्वाकाङ्क्षी योजनाहरू राख्नकै लागि मात्रै उल्लेख नगर्न सुझाव दिनुभयो।  

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र सम्मुन्नति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजनाको कार्यदिशा तय भएको बताउनुभयो। प्रदेशको अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षादेखि गुणस्तरीय शिक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरणसहित रणनीतिक क्षेत्र समेटिएको प्रदेश योजना आयोगका उपाध्यक्ष देवकोटाले बताउनुभयो।

दिगो पूर्वाधार विकास, पर्यटन र सहरीकरण, वन वातावरण, जैविक विविधता तथा विपत् जोखिम व्यवस्थापन, पुँजी निर्माण र लगानी, विनियोजन कुशलता, पुँजीगत खर्च र संस्थागत क्षमता, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलगायत क्षेत्रमा केन्द्रित रहेर रणनीति बनेको बताइएको छ। 

रोजगारीदेखि गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि, उत्थानशील विकास तथा आर्थिक क्रियाशीलतामार्फत समृद्धि हासिल गर्नु दोस्रो पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य रहेको उक्त अवधारणापत्रमा उल्लेख गरिएको छ। 

दोस्रो पञ्चवर्षीय योजना निर्माण प्रक्रिया सहभागितामूलक हुने बताइएको छ। उक्त छलफल तथा अन्तर्क्रिया कार्यक्रमबाट प्राप्त सुझावका आधारमा योजनाको मस्यौदा दस्ताबेजलाई परिमार्जन गरिँदै लगिने नीति योजना आयोगको छ।