• १३ मंसिर २०८१, बिहिबार

नाग्म–गमगढी लोकमार्ग : पुल अलपत्र हुँदा नागरिकलाई सास्ती

blog

हरिकृष्ण ऐडी

मुगु, असोज १ गते । नाग्म–गमगढी लोकमार्ग अन्तर्गतका  १० वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्मका पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुलको निर्माण सम्पन्न नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले २०७८ साल फागुन ९ गते  हिमसागरमाथा कन्स्ट्रक्सन प्रालिसँग ३२ करोड ६८ लाख ९२ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सो प्रालिले कालिकाखेतु, वाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला,  गमघाट, लुम्स र काठेखोलासम्म नाग्म–गमगढी लोकमार्गको नदी र खोला खण्डमा पर्ने १० वटा पक्की पुलको निर्माण २०८२ साल भदौ ८ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सडक डिभिजन जुम्ला कार्यालयबाट लोकमार्गका साइट इन्जिनियर वीरबहादुर जिटीका अनुसार निर्माण प्रालिले हालसम्म नाग्म–गमगढी लोकमार्ग अन्तर्गत पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वाँजागाड, विष्टवाडा र रोकायावाडामा दायाँबायाँ (यबुट्मेन्ट) पिल्लरको काम मात्र भएको छ । अन्य खण्डमा कुनै पनि काम हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले हिमसागरमाथा कन्स्ट्रक्सन प्रालिलाई नाग्म–गमगढी लोकमार्गमा पर्ने दस वटा पक्की पुलको काम छिटोछरितो सम्झौताको समय अवधिभित्र निर्माण गर्न कार्यालयले दुई पटक पत्राचार गरेको जनाइएको छ तर सम्बन्धित निर्माण प्रालिले अहिलेसम्म सुनुवाइ नगरेको बताइन्छ ।

नाग्म–गमगढी लोकमार्गमा पर्ने दस वटा पक्की पुलको अनुगमन र मूल्याङ्कन गर्न इन्जिनियर तीन जना र सबइन्जिनियर तीन जना गरी छ जना कर्मचारी खटाइएको छ । ठेकेदार कम्पनी हिमसागरमाथा कन्स्ट्रक्सन प्रालिका सञ्चालक सूर्यप्रसाद तिमिल्सिनासँग फोन सम्पर्क हुन सकेन । ठेकेदारले काम लिने र निर्माण कार्य ढिला गर्ने परिपाटीले विकास योजना लथालिङ्ग हुने गरेको जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले बताउनुभयो ।