• १९ वैशाख २०८१, बुधबार

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछः उपराष्ट्रपति यादव

blog

काठमाडौँ, असोज १  गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।

उहाँले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गर्नुभयो ।

हरेक वर्षको भाद्र शुक्ल तृतीयामामा मनाउने यो वर्षको अघिल्लो रात [द्वितीया] दर खाएर तीजको दिन व्रत बस्ने चलन रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले चौथीका दिन स्नान गरी ब्रतको पारण गरी खाना खाने र तीजको तेस्रो दिन [ऋषिपञ्चमी] का दिन व्रतालुहरुले दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने परम्परा रहेको बताउनुभएको छ ।

तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने  र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उहाँको भनाइ छ । “यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरुको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइ दिन्छ”, उपराष्ट्रपतिले शुभकामनामा भन्नुभएको छ, “तर यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।”