• ११ मंसिर २०८१, मङ्गलबार

विद्यार्थी छैनन् ‘प्राविधिक धार’ मा

blog

बाबुराम शर्मा

दोलखा, असोज १ गते । प्राविधिक ज्ञान र सिप भएका जनशक्ति तयार गर्ने उद्देश्यका साथ दोलखाका चार वटा माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत सञ्चालन भएका बाली विज्ञानको पठनपाठनमा समस्या आएको छ । सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको बताइएको छ । 

लापिलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक खड्काले यो प्राविधिक धार गत तीन वर्षअघि गाउँपालिकाको पहलमा सिटिइभिटीबाट स्वीकृत भई सञ्चालनमा आएको हो । ४० विद्यार्थीको कोटा रहेकोमा पहिलो वर्ष २५ जना भर्ना भई उत्तीर्ण भइसकेका छन् । दोस्रो वर्ष ११ जना मात्र भर्ना भएर अध्ययनरत छन् भने तेस्रो वर्ष छ जना मात्र आए । यो वर्ष बाली विज्ञानमा भर्ना हुन विद्यार्थी आएनन् । 

यहाँ सञ्चालित बाली विज्ञान अध्ययन गर्न स्थानीय विद्यार्थी भर्ना हुँदैनन् । हुम्ला, जुम्ला, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाहीलगायतका जिल्लाबाट विद्यार्थी आउने गरेका थिए ।  

“प्राविधिक धार अध्ययन गर्ने छात्राका लागि निःशुल्क होस्टेल उपलब्ध छ । छात्रका लागि पनि नजिकै सुलभ भाडामा बस्ने व्यवस्था मिलाइएको छ । यसो भए पनि विद्यार्थी भर्ना हुन नआएपछि यो धारको पठनपाठन बन्द नै भएको छ,” उहाँले बताउनुभयो । 

जिरी प्राविधिक शिक्षालयमा पनि यो वर्ष अहिलेसम्म विद्यार्थी भर्ना हुन आएका छैनन् । यहाँ सञ्चालित १८ महिने तालिममा पनि भर्ना शून्य भएको शिक्षालयले जनाएको छ । 

तामाकोशीको गोल्मेश्वर र भीमेश्वर नगरपालिकाको सुस्पा क्षमावती माध्यमिक विद्यालयमा पनि भर्ना शून्य छ । शैलुङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालयमा निःशुल्क भएकाले १५ जना मात्र भर्ना भएका छन् । ४० को कोटामा २१ जना नभए सिटिइभिटीबाट पाउने अनुदान नपाउने व्यवस्था रहेको विद्यालयका तत्कालीन प्रधानाध्यापक नेत्रबहादुर थपलियाले बताउनुभयो। 

सिटिइभिटीकै तीन दरबन्दी रहेको भीमेश्वर नगरपालिका–४, जिलुको सर्व माध्यमिक विद्यालयले पनि विद्यार्थी टिकाउन निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष तारानाथ चौलागाईंले भन्नुभयो, “सबै मिलेर यो विद्यालयको प्राविधिक धारलाई जोगाएर प्राविधिक उत्पादनमा जोड दिन आग्रह गरिएको छ । सबै ठाउँमा प्राविधिक धार टिकाउन गारो छ । जेनतेन जिल्लामा एउटा प्राविधिक धार हुनु टड्कारो आवश्यकता देखिएको छ।”