• २६ वैशाख २०८२, शुक्रबार

सामाजिक सदभाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का ।

काठमाडौँ, भदौ ३१  गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव,  प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव , सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी हुनुभएको थियो । 

छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग  देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनु भएको छ ।

खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने ब्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिनुभएको छ । 

रक्षा मन्त्रालयमा भएकोमा छलफलमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव, प्रधानसेनापतिका सहभागीहरू । 

नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलार्इ समेत थप प्रभावकारी बनाउँदै कहिँ कतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिनुभएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । 

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको  छलफलका क्रममा राजनीतिक र अपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिनुभएको छ ।

छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा  जानकारी गराउनु भएको थियो ।

यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गर्नु भएको छ ।  

राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर कार्यवाहक  प्रधानमन्त्री खड्काले देशको समसामयिक बिषयमा  राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी  गराउनुभएको  हो ।