लेखनाथ समाचारदाता
लेखनाथ, भदौ ३१ गते । पोखरामा दोस्रो राष्ट्रिय फुटसल प्रतियोगिता असोजमा हुने भएको छ । राजन एन्ड द ब्रदर्शको आयोजनामा असोज २७ देखि ३० गतेसम्म पोखरा रङ्गशालास्थित कभर्ड हलमा फुटसल हुन लागेको हो ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपियाँ र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यो नेपालकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपियाँ, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान २५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा देशैभरबाट ३० भन्दा बढी समूहले भाग लिने आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जनाएको छ । प्रतियोगितामा पोखराकै स्पोर्टस् क्यासलसँग सहकार्य गरिएको छ । आयोजकले अघिल्लो वर्ष विजेतालाई तीन लाख रुपियाँ दिएको थियो ।
अघिल्लो पटक आयोजक (स्पोर्टस् क्यासल) बाट सहभागी भएका सुमित श्रेष्ठ, राम शाही, आरुष सिंह र दीपेश घले नेपाली राष्ट्रिय फुटसल टिममा छनोट भएका छन् । आयोजकको तर्फबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई हौसला मिलेको प्रतियोगिता संयोजक राजन गुरुङ बताउनुहुन्छ ।