काठमाडौं, भदौ ३१ गते। नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन्।
चिकित्सक कुटपिटको विरोधमा चिकित्सक सङ्घले देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दा बिरामी अलपत्र परेका छन्।
गत भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए।
त्यसको विरोधमा चिकित्सकले देशव्यापी आन्दोलनको घोषणा गरेको हो। चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको नेतृत्वमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की नेतृत्वको चिकित्सक प्रतिनिधिबीच वार्ता सुरु भएको छ।
कतिपय बिरामी अस्पताल बन्द भएको थाहा नपाइ अस्पताल पुगेका छन् भने कतिपय बिरामी अस्पताल खुल्छ भनेर कुरेर बसेका छन्। आकस्मिक सेवा मात्र खुला हुँदा ओपीडीमा उपचार गर्न पुगेका सर्वसाधारण समस्यामा परेका हुन्।
तस्बिरः कविता थापा र केशब गुरुङ