काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचढी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक राष्ट्रपति कार्यालयमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै यस्तो बताउनुभएको हो ।
उहाँले पौडी र घोडचढीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताउनुभयो ।
‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्याएको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्नुपर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।’
उहाँले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताउनुभयो ।
बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात् शोक न सुर्ता भोक न भकारीको रहने गरेको स्मरण उहाँले गर्नुभयो । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भन्नुभयो ।
उहाँले अहिलेका बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाई खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताउनुभयो ।
“ हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिलेजस्तो विद्यालय भवन, कुर्सी बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरेँ, घरनजिकैको वरपीपलको चौतारीका ढुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धूलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो ।
राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताउनुभयो । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाको लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक छ भन्नुभयो ।
उहाँले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने यसवर्षको बालदिवसको नाराले नै पुष्टि गरेको छ भन्दै उनीहरुले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिकलगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको छ भन्नुभयो ।
बालबालिकाको तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुन्छौं भन्नुभयो । उहाँले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।