• १४ मंसिर २०८१, शुक्रबार

ज्येष्ठ नागरिकलाई रेडियो

blog

इलामको रोङ गाउँपालिकाले पालिकाका जेष्ठ नागरिकलाई रेडियो वितरण ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), भदौ ३१ गते । इलामको रोङ गाउँपालिकाले पालिकाका ज्येष्ठ नागरिकलाई रेडियो वितरण गरिने भएको छ । बुढेसकालको साथीको रूपमा सुन्न र गाउँपालिकाका गतिविधि रेडियो मार्फत सूचना प्रवाह गर्नका लागि ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्न लागेको हो । 

गाउँपालिकाका लक्षित समूहको रूपमा रहेका ज्येष्ठ नागरिकले सूचनामूलक, शिक्षामूलक सामग्री सुन्न नपाउने भएकाले रेडियो वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताउनुभयो । उहाँका अनुसार रोङ गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको घरधुरी तथ्याङ्क सङ्कलन सकेर करिब एक हजार एक सय घर परिवारलाई रेडियो वितरण गर्न लागिएको हो । 

मोबाइल र इन्टरनेटको माध्यमबाट प्रवाह हुने सूचना युवा तथा सहर बजारमा मात्र सीमित हुने तर गाउँबस्ती र मोबाइल चलाउन नजान्ने ज्येष्ठ नागरिकका लागि रेडियो नै प्रभावकारी माध्यम भएकाले रेडियो वितरण गर्न लागिएको अध्यक्ष स्याङबोले बताउनुभयो । 

अध्यक्ष स्याङबोले भन्नुभयो, “रेडियो काम गर्दै सुन्न पनि सकियो, आँखा नदेख्नेले पनि सुन्नसक्नु हुने भएकाले प्रभावकारी ठानेका छौँ ।” पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत  पहिलो चौमासिक भित्रैमा रेडियो वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । रोङ गाउँपालिकाबाट विभिन्न रेडियोबाट गाउँपालिकाको गतिविधि रहेको कार्यक्रम ‘रोङको सेरोफेरो र जेस्ठ नागरिक संवाद’ रेडियोबाट स्थानीय एफ.एम. रेडियोबाट प्रसारण गर्दै आएको छ । 

यस्तै, पालिकाको भूगोल विकट भएका कारण सबै ठाउँमा टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट र अनलाइनको पहुँच अझै सबै ठाउँमा पुग्न सकेको छैन ।