• ११ मंसिर २०८१, मङ्गलबार

एसईई पास बालबालिकालाई बाल विकासको सम्मान

blog

एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मान गर्दै बाल विकास समाज ।

काठमाडौं, भदौ ३१ गते । बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मानित गरेको छ ।कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको प्रमुख अतिथ्यतामा शैक्षिक वर्ष २०७९ को एसईईमा सफल भएका विभिन्न सामुदायिक विद्यालयका बालबालिकाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिले सम्मानित बालबालिकालाई शुभकामना दिँदै आगामी शैक्षिक यात्रा नियमित रुपमा अगाडी लैजान आग्रह गर्नुभयो । संस्थाले कार्यसमिति पदाधिकारी आजीवन सदस्य, शुभचिन्तक सिटिजन्स बैंकबाट आर्थिक सङ्कलन गरी निम्नस्तरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रममार्फत शैक्षिक सहयोग गरिरहेको रहेको बाल विकास समाजका शिक्षा अधिकृत गोबिन्द बि.क.ले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०६० देखि २०७९ सम्ममा संस्थाको सहयोगमा अध्ययन गर्ने १६४ जना बालबालिकाहरुले एसईई पास गरिसकेका छन् ।बालबालिकाहरुलाई आधारभूत शिक्षाको पहुँच वृद्धि गर्ने उद्देश्यले आफैँबाट आर्थिक सङ्कलन गरी कार्यक्रम सुरु गरिएको संस्थाले जनाएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामग्री, विद्यालय पोषाक, स्वेटर, जुत्ता संस्थाले उपलब्ध गराउँदै आएको छ ।

बालबालिकाहरुको शैक्षिक अधिकार सुनिश्चितका लागि स्थानीय सरकारको समन्वय तथा सहकार्यलाई संस्थाले जोड दिँदै आएको छ । साथै संस्थाले अक्षयकोष खडा गरी निम्नस्तरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई निरन्तर रुपमा छात्रवृत्ति कार्यक्रममार्फत सहयोग गरिरहने प्रतिबद्धता संस्थाले सम्मान कार्यक्रममा जनाएको छ ।  सोही अवसरमा संस्थाको वार्षिक साधारण सभा र आफ्नो ३३ औँ साधारण सभा सम्पन्न गरेको छ ।