• २८ वैशाख २०८२, आइतबार

नेपाली सेनाको साख जोगाउनु पर्छ: सांसद वाग्ले

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ ३१ गते । प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताउनुभएको छ । 

शनिवार गोरखा सदरमुकाममा आयोजित पार्टीको गोरखा नगरपालिकाको भेला तथा आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले सेनाको सम्बन्धमा आफूले बोल्दै नबोलेको विषयलाई उठाएर आफूविरुद्ध भ्रम फैलाउने षडयन्त्र भइरहेको समेत बताउनुभयो । 

‘नेपाली सेनाका बारेमा भन्दै नभएको कुरा विपक्षीहरूले हल्ला गरिरहेका छन्, उहाँले भन्नुभयो, ‘सारा कुरा छोडेर देश बनाउनपर्छ भनेर होमिएका मान्छेहरूबाट त्यस्ता गैह्र जिम्मेवार कुराहरू आउँदैनन् ।’ डा.वाग्लेले सेनाको साँख जोगाउने काम सबैले गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

‘नेपाल एकीकरणको बेलादेखि अभिछिन्न रूपमा जीवित रहेको एउटै मात्र संस्था नेपाली सेनाको हो, यसको साख जोगाउनुपर्छ कसैले मानमर्दन गर्नुहुँदैन, उहाँले भन्नुभयो, ‘भित्र केही सुधार गर्नुपर्ने कुराहरू छन् भने पनि प्रधानसेनापति मार्फत हामी राजनीतिककर्मीहरुले संसदबाट समन्वयात्मक ढङ्गले अगाडि लैजानुपर्छ ।’

नेता डा.वाग्लेले रास्वपाको देश परिवर्तनको सङ्कल्पले पुराना दलहरू डराएको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्य, सुशासन र समृद्धिको अभियान रास्वपाको सङ्कल्प रहेकोमा जोड दिनुभयो । आफूहरूले देशमा केही गर्ने हुटहुटीका साथ राजनीतिमा आएको भन्दै अब कसैले रोकेर नरोकिने डा.वाग्लेको भनाइ छ  । 

‘बाहिर पिँधमा बसेर रमिते भएर खराब मान्छेहरूलाई सल्लाह मात्र दिएर बस्दा उनीहरूले सल्लाह पनि नलिने भएपछि यसरी भएन, आफ्नै जीवनकामा केही गर्नुपर्यो भनेर हामी राजनीतिमा आएका छौँ, उहाँले भन्नुभयो, ‘रास्वपाले देशमा आशाको सञ्चार गरेको छ ।’

डा.वाग्लेले नेताहरुको विगत ३० वर्षको काम गराइबाट नेपाली जनतामा गुम्नै लागेको आशाको दियोलाई अब निभ्न दिन नहुने बताउनुभयो ।  दोस्रो तहका नेताहरूसँग विकृत राजनीतिसँग लड्ने नैतिक साहस र आँट दुवै नभएको आरोप लगाउँदै उहाँले उनीहरूबाट बरु त्यसलाई मलजल गर्ने काममा अंशियार भएको बताउनुभयो ।