तानसेन समाचारदाता
पाल्पा, भदौ ३१ गते । जग्गा अभावका कारण पाल्पा अस्पतालको स्तरोन्नतिमा समस्या थपिएको छ। अस्पतालको भवन निर्माणलगायतको काम गर्न जग्गा अभाव हुँदा निर्माणको बजेटसमेत फिर्ता भएको छ। तीन वर्षदेखि अस्पतालका लागि जग्गाको खोजी भए पनि अहिलेसम्म जग्गा प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। जग्गा अभावकै कारण लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि ५० शय्याको अस्पताल बनाउने घोषणा गरे पनि काम अलपत्र बनेको छ।
अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले भन्नुभयो, “अस्पतालको स्तरोन्नतिका लागि पहिलो भवन बनाउन आवश्यक देखिन्छ, एक सय वर्ष पुरानो भवनबाट ५० शय्याको अस्पताल बनाउन सम्भव छैन।” जग्गा अभावका कारण हरेक वर्ष नेपाल सरकारले विनियोजन गरेको बजेटसमेत फिर्ता हुने गरेको छ। अस्पतालको भवन बनाउन भनेर दुई वर्षअघि पुनर्निर्माण प्राधिकरणबाट समेत बजेट परेको थियो तर उक्त बजेटबाट भवन बनाउन जग्गा प्राप्त नहुँदा बजेट फिर्ता भएको अस्पतालले जनाएको छ ।
चालु आवमा पनि नेपाल सरकारले अस्पतालको भवन निर्माण गर्न १२ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ। अस्पतालका चिकित्सक विवेक भण्डारीले अस्पताल बनाउन आवश्यक पर्याप्त जग्गा नहुँदा टेन्डर प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुभयो। मोहनकन्या माविको होस्टेलको जग्गा सट्टीपट्टी गर्ने प्रक्रिया अघि बढे पनि मन्त्रीपरिषद्बाट निर्णय हुन सकेको छैन। यसबाहेक अन्य नगरपालिकालाई जग्गा मिलाउन आग्रह गरिएको छ।
अस्पतालको स्तरोन्नति नहुँदा जनशक्तिसमेत अस्पतालमा बस्न नमानेको व्यवस्थापन समितिको भनाइ छ। विकास समितिका सदस्य शशी श्रेष्ठले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको दरबन्दी भए पनि चिकित्सकलाई बसेर सेवा दिने स्थानको समेत अभाव देखिएको बताउनुभयो। विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न पटक पटक सूचना प्रकाशन गरे पनि कोही पनि नआएको उहाँले बताउनुभयो।
हाल अस्पतालसँग सात रोपनीभन्दा बढी जग्गा छ। नयाँ अस्पतालको भवन बनाउन कम्तीमा १२ रोपनी जग्गा आवश्यक पर्ने अस्पतालले जनाएको छ। नयाँ भवन बन्न नसक्दा जीर्ण बनेको सय वर्ष पुरानो भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन्। हाल अस्पतालको १५ शय्या मात्र सञ्चालनमा छ। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले अस्पतालका लागि आवश्यक जग्गाको विषयमा टुङ्गो लगाउन छलफल गरिने बताउनुभयो।