• २८ वैशाख २०८२, आइतबार

हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी : मन्त्री श्रेष्ठ

blog

हुलाकको पुनर्संरचना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ । तस्बिर : मन्त्री श्रेष्ठको सचिवालय

हेटौँडा, भदौ २९ गते । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेको बताउनुभएको छ ।

हुलाक सेवा विभागले आज (शुक्रबार) हेटौँडामा गरेको एक पालिका एक हुलाक कार्यालयको अवधारणा बमोजिम हुलाकको पुनर्संरचना सम्वन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले हुलाक सेवाले सात सय ५३ स्थानीय तहमा प्रदेश र स्थानीय तहका चिठीपत्र मात्रै होइन, सवारी लाइसेन्स, राहदानी, नागरिकता, जेष्ठ नागरिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र जस्ता आधारभूत कागजात हुलाक सेवा मार्फत जनताको घरदैलोमा पुर्‍याउने व्यवस्था मिलाउन सक्नुपर्ने बताउनुभयो ।


मन्त्री श्रेष्ठले सूचना प्रविधिबाट भागेर होइन, त्यसलाई आत्मसात गरेर अर्थात् हुलाकलाई पनि प्रविधिमैत्री बनाएर सफ्टवेयरको विकास गर्न सकेमा मात्रै हुलाक सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला निर्देशनालयगत पर्ने थप बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषागरि कुल १९ जिल्लाका हुलाक अधिकृत तथा केही स्थानीय तहका प्रतिनिधिहरुसमेतलाई विद्यमान डाँक रेखा र भावि डाँक व्यवस्थापन, वर्तमान हुलाक सेवा र समसामयिक सुधार, सूचना प्रविधि र प्रणालिको प्रयोगलगायत विषयमा छलफल गरिएको थियो ।

विभागका महानिर्देशक प्रदिपराज अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव निश्चलराज पाण्डे, निर्देशक ध्रुवराज आचार्यलगायतको सहभागिता रहेको थियो ।