होमराज रानाभाट
कावासोती, भदौ २९ गते । कालीगण्डकी कोरिडोर खण्डमा आजदेखि रातको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । सो सडक निर्माणका क्रममा रहेकाले कोरिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोरिडोर निर्माणको काम सम्पन्न नभएकोले र नजिककिएको चाडपर्वमा हुने अप्रत्याशित दुर्घटनाको जोखिम बढ्ने भएका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
कालीगण्डकी कोरिडोर नवलपरासी पूर्व खण्डमा ८७ किलोमिटर लामो रहेको छ र यहाँ अझै २० प्रतिशत काम सकिएको छैन । नवलपुरमा कालीगण्डकी सडक लामो भएकाले र यसमा लामो बाटो संग्लगन क्षेत्रमा पर्ने र धेरै ठाउँमा फोन सम्पर्क समेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या पर्ने हुँदा यसले जोखिम बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
गौली गल्पका ठेकेदार कपिल शर्माका अनुसार कोरिडोर निर्माणका चरणमा रहेकाले यो अझै निर्माण पूरा भएको छैन । कोरिडोरमा रातीको समयमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको शर्माको भनाइ छ ।
नवलपुरको बुलिगँटार र बौंदीकाली गाउँपालिकासँग प्रत्यक्ष जोडिएको कालीगण्डकी कोरिडोरको निर्माण यी दुवै पालिकामा पर्ने २३ ठाउँमा अझै काम बाँकी रहेकाले यसको निर्माणमा अहिले काम अघि बढेको आयोजनाले जनाएको छ । पहाडी क्षेत्रमा सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । सञ्चारको पहुँच र कोरिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कालीगण्डकी कोरिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना र ठुला गरी दैनिक दुई सय सवारीसाधन सञ्चालन हुने गर्छन् भने रात्रिको समयमा पाल्पा र स्गाग्जा, पर्वत पोखराबाट बस सेवा सञ्चालन हुने गरेका छन् र रात्रिको समयमा बढेको दुर्घटनाका कारण अहिले रात्रिको समयमा आजदेखि यातायात सेवा बन्द गरेका छौँ भने दिउँसो भने निर्बाध सवारी साधन चल्ने प्रहरीले जनाएको छ ।
यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत गाडी सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि गाडी सञ्चालन हुने गरेका छन् ।