• १५ असार २०८१, शनिबार

‘गलत नियतले सञ्चालित सहकारीलाई कारबाही हुन्छ’

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ २७ गते । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सहकारीको नाममा गलत नियतले काम गरी सहकारीका बचतकर्ता तथा निक्षेपकर्ताको रकम हिनामिना गर्ने सहकारी तथा सञ्चालकलाई कारबाही गरिने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको ४२ औँ साधारण सभा कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणाका लागि समिति बनाउने गृहकार्य गरिरहेको बताउनुभयो । 

“मन्त्रालयमा कतिपय सहकारीका बचतकर्ता, निक्षेपकर्ताले सहकारीको समस्या तथा बदमासीका बारेमा जानकारी गराउनुभएको छ, केन्द्रीय तहमा समस्याग्रस्त सहकारी घोषणा गर्ने समिति छ तर अहिलेसम्म प्रदेश तहमा छैन । प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि समिति बनाउने प्रक्रिया अघि बढाएको छ,” मन्त्री महर्जनले भन्नुभयो । 

उहाँले प्रदेशभरमा काम गर्ने अनुमति लिएका सहकारीले राम्रोसँग काम नगरेको र नाम मात्रैको सहकारीका रूपमा रहेको गुनासो आएकाले त्यस्ता सहकारीको प्रदेश सरकारले अनुगमन गरी अनुगमनमा क्रममा बदमासी गरेको पाइएमा ती सहकारीलाई कारबाही गरिने बताउनुभयो । 

उहाँले नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने कार्य रोक्नुपर्ने आवाज उठेसँगै मन्त्रालयले नगरपालिका क्षेत्रमा सहकारी दर्ता रोक्न निर्देशन दिइएको भन्दै अदालतले सहकारीमा जग्गाको दृष्टिबन्धक राख्दा कुनै शुल्क नलिने आदेश दिएसँगै सहकारीलाई राहत मिलेको बताउनुभयो । 

उहाँले पछिल्ला दिनमा सहकारीमा बचत गरिएको रकम डुब्ने हो कि भन्ने डरले सहकारी र बचतकर्ताबिच सम्बन्ध राम्रो नभएको बताउँदै यस्तो अवस्थामा सरकारले सहकारी जोगाउने र बचतकर्ताको बचत रकम संरक्षणमा ध्यान दिनुपर्ने अवस्था रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले देशमा रहेका ३२ हजार सहकारीमध्ये करिब एक प्रतिशत सहकारी समस्यामा रहेको बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले नगरभित्र रहेका सहकारीको अनुगमन सुरु गरेको बताउनुभयो ।