• २२ वैशाख २०८१, शनिबार

करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ २६ गते । अवैध रूपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ भेसेटारस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा सहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोट बस्नेत २५ वर्षका रामबहादुर आले, गण्डकी गाउँपालिका–६ घर भएका २८ वर्षीय पदम बहादुर थापा, तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्नेत २२ वर्षका मनोज कुमाल र सोही ठाउँका २४ वर्षीय प्रदीप अर्याल रहेको उहाँले बताउनुभयो । 

दरौंदी नदीमा ब्याट्री मार्फत करेन्ट प्रवाह गरी अवैध रूपमा माछा मार्दै गरेको अवस्थामा प्रहरी चौकी मझुवाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री लगायत सामग्री समेत बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

पक्राउ परेका चारै जना विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । 

जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल गर्दै आएको छ । गएको सोमबार पनि गोरखा नगरपालिका–१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।