• १९ वैशाख २०८१, बुधबार

दुष्ट अनुहार (कविता)

blog

पिता पुर्खाले भन्थे 

दुष्टको अनुहार नै नहेर्नू

दुष्ट अनुहारको राक्षसी हाउभाउले

तिम्रो कोमल हृदय विचलित होला

सतर्क रहनु दुष्ट अनुहारसँग

आफ्ना सद्भावनाहरू खल्बलिएला

होस् गर्नू दुष्टको अनुहार नै नहेर्नू ।।


पहिलेको जस्तो छैन जमाना

अहिले दुष्ट फेसबुकमा हरबखत देखिन्छ

अनुहार नै नहेरूँ भने पनि हेर्नै पर्ने हुन्छ

दुष्ट फेसबुकमा आदर्शको भाखा ओकल्छ

दुष्टका छद्म बोली वचनहरू

सुन्दै नसुनूँ भन्दा पनि सुनिन्छ 

दुष्ट सोझा मान्छेको खोजीमा 

फेसबुकमा साथी खोजिरहन्छ 

र बुनिरहन्छ दुष्ट कर्मको जालो ।


ऊ कहिले कसैलाई राजनीतिमा फसाउँछ

कहिले मानवताको बहानामा घाँटी रेट्छ

मिठो बोलेर नमिठो परिणाम निम्त्याउँछ 

आफ्नो स्वार्थका लागि रूप फेरिरहन्छ

पार्टी फेरिरहन्छ र फेरिरहन्छ बोली

होशियार दुष्ट फेरि फेसबुकमा छाएको छ ।


मानव अधिकारको बहानामा चक्लेटी नारामा

नेपालीको घर गाउँबस्ती सहरमा छिर्दैछ दुष्ट

बाटो, बत्ति, पानी आवास आदिको पार्टी भन्दै 

दुष्ट राजनीतिक अभिलाषाको विष घडा बोकेर

भ्रष्टाचारीहरू भएको पार्टीको मतियार बन्दै

फेरि भ्रष्ट पार्टीको वकालतमा उत्रेको छ 

होसियार फेरी फेसबुकमा दुष्ट कुर्लेको छ 

दुष्ट अनुहार हेर्दै नहेरूँ भन्दा पनि फेसबुकमा देखिन्छ । 


जोरपाटी, नयाँबस्ती