काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।
सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियार जस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँको तर्क थियो ।
मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धी कानुन निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।
उपमहासचिव गुरुङले भन्नुभयो, ‘‘मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने कुरामा यो संस्थालाई बलियो बनाउन आवश्यक छ । सीमा सम्बन्धी ऐन पनि छैन । नेश्नल सेक्युरिटीको कुरा पनि छैन । यस्तो स्थितिमा अहिलेको संविधानको मर्म र भावना अनुसार काम गर्नु सबै दलहरूको एकताबद्ध प्रयासमा मात्रै सम्भव छ । समितिले सोही अनुसार काम गर्नुपर्छ ।’’
उपमहासचिव गुरुङले सबै दलहरूको एकताबद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराउनुभयो ।