• २० वैशाख २०८१, बिहिबार

प्रकृति

blog

वसन्तमा पालुवा आउने शिशिरमा झर्ने 

हुर्की, बढी, ठुलो भई बुढो भएर मर्ने ।।

सबैले भने यो त प्रकृतिको नियम हो

मैले भने नियम चलाउने प्रकृति चाहिँ को हो ?


विशाल यो हरियाली यति ठुलो सेरोफेरो

प्रकृतिकै खोजी गर्दै बाल्यकाल बित्यो मेरो ।

कता कता मनमा लाग्छ प्रकृतिलाई देखिसकेँ

प्रकृतिकै खोजी गर्दागर्दै कविता नै लेखी सकेँ ।।


अहिलेसम्म खोज्दै हिँड्दा जति देखेँ आकृति

बल्लतल्ल थाहा भयो यही रहेछ प्रकृति ।

हरियाली डाँडाकाँडा, खोला नाला भिरपाखा

सुन्दर सेता हिमाल देख्दा मग्न हुन्छन् आँखा ।


सातै समुन्द्र  समतल तराई  यो सारा संसार

भन्छन् सबै यही त हो प्रकृतिको उपहार ।

को होलिन् ती प्रकृति भन्दै खोजी हिँडे जब

चकित भएँ एउटा सुन्दर वनमा पुगेँ तब ।।


चिरबिर– चिरबिर आवाज आउन थाल्यो 

कुहुँकुहुँ कोइली चरी गीत गाउन थाल्यो । 

सबै ती चरीहरूको घर रहेछ पात अनि रुख

न्याउली चरी गाउन थाल्यो पोख्दै दुःख ।। 


तेह्रथुम