१
गरेकी छु भरोसा खिन्न नहोस् मनमा
धोका र घातको चिह्न नहोस् मनमा
मुटु छाम्दा हामीले पाऊँ एकअर्कालाई
यो मायाको आकार भिन्न नहोस् मनमा
२
मुटुमा राखेर आँखाको कसिङ्गर नबनाऊ
उजाडी मलाई चैतको पतिङ्गर नबनाऊ
फेरेको हरेक सासमा तिम्रो मात्रै नाम छ
त्यही नामले तर्सिने घाइते अजिङ्गर नबनाऊ
३
कसरी भन्नु कति माया लाग्छ भनेर
धड्किन्छ मुटु अति माया लाग्छ भनेर
प्रमाण केही हुन्न न त मिल्छ देखाउन
आकाश धर्ती जति माया लाग्छ भनेर
४
तिमीले छल्यौ भने म रापले मर्छु
टुटेको मन र त्यस्कै तापले मर्छु
जिउँदो पारी मलाई विष नदिनू
दुःखेको मुटु हारेको श्रापले मर्छु ।
५
अनुभूतिको सार लिएर बाँचेकी छु
कल्पनामा प्यार दिएर बाँचेकी छु
रमेकी छु यस्तो मायाको संसारमा
पर्खाइका आँसु पिएर बाँचेकी छु ।