• १५ मंसिर २०८१, शनिबार

बजेट सुनिश्चित गरेर मात्र ठेक्का : अर्थमन्त्री

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको सरकारले निर्वाचन क्षेत्र, पालिकास्तरका गर्नैपर्ने योजनाहरू अघि बढाइयो भने उक्त योजनाको काम दिगो हुन्छ,” मन्त्री महतले थप्नुभयो । उहाँले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनको बनाउने काम भइरहेकाले उक्त सडक विस्तारको काम समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार रहेको बताउनुभयो । 

“सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि सरकारले बजेट व्यवस्था गर्दै आएको छ, उक्त सडक योजना समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार छ, बजेट अभावले गर्दा सडकको काम रोकिँदैन,” अर्थमन्त्री महतले भन्नुभयो । उहाँले अरनिको राजमार्गको कोदारी सडकको पुनर्निर्माणका लागि चीन सरकारले चासो दिएको बताउँदै चीन भ्रमणका क्रममा उक्त सडक पुनर्निर्माणको विषयमा थप छलफल गरिने बताउनुभयो । उहाँले कतिपय कानुन अभावका कारण तीन तहको सरकारबिच काम गर्न समस्या देखिएको बताउँदै शिक्षा, कर्मचारी व्यवस्थापन, सुरक्षा निकायसँग सम्बन्धित कानुनहरू सङ्घीय संरचना अनुसार निर्माण गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्तुत हुने क्रममा रहेको बताउनुभयो । उहाँले सुशासन, पारदर्शिता, आर्थिक विकासका लागि तीन तहका सरकारबिच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा अर्थमन्त्री डा. महतले पछिल्लो समय विभिन्न महामारीका कारण थलिएको पर्यटनले लय समाएको बताउँदै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको बताउनुहुँदै पर्यटनले अर्थतन्त्रलाई केही चलायमान बनाएको बताउनुभयो । उहाँले सरकारसँग विदेशी मुद्रा सञ्चिति एथेष्ट रहेको बताउँदै मुलुकमा लगानीको वातावरण बनाउने र पुँजीगत खर्चलाई कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्ने चुनौती रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले मुलुकमा लगानी गर्नका लागि हिच्किचाएका कारण पनि आर्थिक क्षेत्र चलायनमान हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले जिल्लाको समृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको उपस्थितिमा लगानी तथा विकास सम्मेलन आयोजना गरिने बताउनुभयो । उहाँले जिल्लामा रहेका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको व्यवस्था गर्ने, समन्वय समितिमा आइडिया बैङ्क स्थापना गर्ने, जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम तथा सम्मेलन गर्नका लागि अत्याधुनिक सभा हल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो ।