सन्तान उत्पादन गर्नु सबै जीवको प्रमुख प्राकृतिक कार्य हो, जसलाई प्रजनन क्रिया भनिन्छ । जीवहरूमा दुई प्रकारका प्रजनन क्रिया पाइन्छ, भालेको शुक्राणु र पोथीको डिम्ब निषेचनपश्चात् बन्ने जाइगोटको वृद्धिबाट हुने मैथुनिक प्रजनन क्रिया र दुई प्रकारको कोषहरूको संयोजनबिना नै हुने अमैथुनिक प्रजनन क्रिया । मैथुनिक प्रजनन क्रियाका लागि दुई विपरीत लिङ्गको आवश्यक पर्छ भने अमैथुनिक प्रजनन क्रिया एक प्रकारको लिङ्गबाट नै सम्भव हुन्छ । साधारण निम्न जातिका जीव अमैथुनिक प्रजनन क्रियाबाट सन्तानोत्पादन गर्न सक्छन् भने मैथुनिक प्रजनन क्रिया सबै प्रकारका जीवमा पाइन्छ । मानिस जस्ता जटिल जीव मैथुनिक क्रियाबाट मात्र सन्तानोत्पादन गर्दछन् । यस प्रक्रियामा सन्तानको जन्म दुई विपरीत लिङ्गको वंशाणु मिश्रणबाट हुन्छ । मैथुनिक प्रक्रियाबाट जन्मेको सन्तानले बाबु र आमाबाट करिब करिब बराबर वंशाणु प्राप्त गर्दछन् ।
मानव जातिमा प्राकृतिक सन्तान वृद्धि मैथुनिक प्रजनन क्रियाबाट हुने हुँदा, प्रत्येक सन्तानको एक आमा र एक बाबु हुन्छन् । यस लेखमा एउटा नयाँ प्रकारको प्रजनन क्रियाको बारेमा वर्णन गरिएको छ, जसमा तीन बाबुआमाको वंशाणुको सम्मिश्रणबाट सन्तान उत्पादन गरिन्छ । यो एक अप्राकृतिक प्रजनन क्रिया हो । विज्ञानको विभिन्न क्षेत्रमा भएको प्रगतिले प्रजनन विज्ञानमा पनि नयाँ किसिमका अप्राकृतिक प्रजनन क्रियाको विकास सम्भव भएको छ । केही बाबुआमाबाट सन्तान उत्पादनमा वंशाणुगत कारणले जटिलता उत्पन्न भइ पूर्ण प्राकृतिक तरिकाले स्वस्थ बच्चा जन्माउन सम्भव हुँदैन । हाल मानिसको प्रजनन क्रिया सम्बन्धमा बढी जानकारी प्राप्त भएको र नयाँ वैज्ञानिक प्रविधिको विकास भएकाले त्यस्तो जोडीले पनि स्वस्थ बच्चा जन्माउन सक्ने भएका छन् । मानव प्रजनन क्रिया एक जटिल प्रक्रिया भएकाले यस्ता नयाँ वैज्ञानिक प्रविधि प्रयोग गरी अप्राकृतिक तरिकाले बच्चा जन्माउनु एक खर्चिलो प्रक्रिया मानिन्छ र यो प्रविधि आममानिसको पहुँचभन्दा पर रहेको छ । वैज्ञानिक विकासले भविष्यमा यो प्रक्रिया सरल र सस्तो भई आममानिसको पहुँचमा पुग्ने छ ।
बच्चाले आफ्नो आमा र बुवाबाट वंशाणु प्राप्त गर्दछ । वंशाणु मूल रूपमा कोषको न्युक्लियसमा हुन्छ । केही मात्रामा वंशाणु न्युक्लियस बाहिर माइटोकोन्ड्रियामा पनि हुन्छ । माइटोकोन्ड्रिया कोषभित्रको एक अङ्ग हो, जसको प्रमुख काम कोषलाई आवश्यक शक्ति प्रदान गर्नु हो । साधारणतया एउटा कोषमा एकभन्दा बढी माइटोकोन्ड्रिया हुन्छ । वंशाणुमा प्राकृतिक वा अप्राकृतिक कारणले परिवर्तन आउन सक्छ, जसलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ । यस्तो परिवर्तन अत्यावश्यक वंशाणुमा भएमा भ्रूणको वृद्धि नै रोकिन सक्छ, जीवित शिशु नजन्मन सक्छ वा नवजात शिशुको आयु छोटो हुन सक्छ । अन्य वंशाणुमा परिवर्तन भएमा दोषयुक्त शिशुको जन्म हुन सक्छ । यस्ता दोषहरूलाई अनुवांशिक रोग भनिन्छ । साधारणतया अनुवांशिक रोगको पूर्ण उपचार हालसम्म सम्भव भएको छैन, त्यसैले यस्ता शिशुले जिन्दगीभर यो रोगसहित बाँच्नु पर्छ । न्युक्लियस वा माइटोकोन्ड्रियामा भएको वंशाणुमा आएको परिवर्तन नै अनुवांशिक रोगको कारण हो ।
शिशुको न्युक्लियसमा भएको वंशाणु उसले बाबु र आमाबाट बराबर मात्रामा प्राप्त गरेको हुन्छ, त्यसैले यस्तो वंशाणुबाट हुने अनुवांशिक रोग बच्चाले बाबु वा आमाबाट जन्मँदै लिएर आएको हुन्छ तर माइटोकोन्ड्रिया शिशुले मूल रूपमा आमाबाट प्राप्त गर्ने हुँदा माइटोकोन्ड्रियामा भएको वंशाणुबाट हुने अनुवांशिक रोग आमाबाट मात्र प्राप्त गर्न सक्छ ।
माइटोकोन्ड्रियामा जम्मा ३७ वटा जिन हुन्छ । यी जिनहरूमा आएका परिवर्तनले विशेष गरी धेरै शक्ति प्रयोग गर्ने अङ्ग जस्तै मस्तिष्क र मांसपेशीलाई असर पार्दछ, जसले गर्दा यी अङ्गहरूको वृद्धि सुस्त हुन्छ । त्यसैले यस्तो आणुवांशिक परिवर्तन धेरै जसो प्राणनाशक अनुवांशिक रोगको कारण हुन जान्छ । यस्ता माइटोकोन्ड्रियाको कारणले हुने अनुवांशिक रोगको प्रभावकारी उपचार अझै विकास भएको छैन । ली लक्षण, कन से लक्षण, केही प्रकारको मुर्छा पर्ने रोग आदि माइटोकोन्ड्रियासँग सम्बन्धित अनुवांशिक रोग हुन् ।
ली लक्षण वा ली रोग स्नायुको वृद्धि र कार्यलाई असर पार्ने माइटोकोन्ड्रियाको वंशाणुमा हुने खराबीको कारणले हुने एक प्राणनाशक अनुवांशिक रोग हो । यसले बच्चाको केन्द्रीय स्नायु प्रणालीलाई नै असर पार्दछ । ली लक्षण भएको बच्चा जन्मँदा स्वस्थ देखिन्छन् तर तीन महिनादेखि दुई वर्षभित्रमा नै उसको स्नायु प्रणालीमा खराबी देखिन्छ र बच्चामा अचानक मुर्छा पर्ने, खानामा समस्या, रोइ रहने, वान्ता, हात खुट्टाको असन्तुलित चाल जस्ता लक्षण देखिन्छन् । अन्त्यमा अवस्था बिग्रँदै गएर बालकको मृत्यु हन्छ । यस्तो बालकको मृत्यु धेरै जसो बालक तीन वर्षको हुनुभन्दा पहिले नै हुन्छ । बिरलै ली रोग जवानीमा मात्र देखापर्ने हुन्छ । बच्चामै हुने ली रोग ४० हजार जनसङ्ख्यामा एक जनालाई हुन सक्ने सम्भावना हुन्छ । भौगोलिक स्थिति अनुसार यो रोगको सम्भाव्यता अझ बढी हुन सक्छ ।
आमाको कोषमा भएका केही माइटोकोन्ड्रियामा भएको म्युटेसनले बच्चामा ली सिन्ड्रोम हुन सक्छ । त्यस्तो आमाको कोषमा भएको अधिकांश माइटोकोन्ड्रिया स्वस्थ भएकोले उनमा त्यो सिन्ड्रोम देखिन्न तर उनीबाट यो रोग उनको बच्चामा सर्न सक्छ । एउटा त्यस्तै आमाबाट जन्मेका दुई बच्चाको मृत्यु र चार वटा गर्भ क्षय भइसकेको थियो, उनीबाट प्राकृतिक तरिकाबाट बच्चा जन्मने सम्भावना थिएन । उनले अप्रिल २०१६ मा एक स्वस्थ शिशुको जन्म दिइन्, जसले प्रजनन् उपचारमा नयाँ आयाम ल्यायो । लामो समयको अनुसन्धानपछि विकास गरिएको नयाँ प्रविधिको प्रयोगबाट उनी स्वस्थ बच्चा जन्माउन सफल भएकी हुन् । यस प्रविधिबाट जन्मेको बच्चाले अधिकांश वंशाणु आमा र बाबुबाट प्राप्त गर्दछ भने थोरै वंशाणु एक महिलादाताबाट प्राप्त गर्दछ । तीन व्यक्तिको वंशाणुबाट जन्मेको बच्चालाई ‘तीन आमाबाबुको सन्तान’ भनिन्छ । यस्ता बच्चाले न्युक्लियसमा भएको वंशाणु आमा र बाबुबाट प्राप्त गर्छ भने माइटोकोन्ड्रियाको थोरै अतिरिक्त वंशाणु मात्र तेस्रो व्यक्तिबाट पाएको हुन्छ, त्यसैले केही वैज्ञानिक यी बच्चालाई तीन आमाबाबुको सन्तान भन्न नमिल्ने विचार राख्दछन् । उनीहरूका अनुसार माइटोकोन्ड्रिया मात्र प्रदान गर्ने महिलालाई आमा भन्न मिल्दैन ।
तीन दशकको माइटोकोन्ड्रिया परिवर्तन गरी महिलामा देखिने प्रजनन समस्या समाधान गर्ने प्रयासका लागि विकसित प्रविधिलाई नै आमाबाट बच्चामा रोग सर्न रोक्न प्रयोग गरिएको हो । यसका लागि आमाबाबुको अतिरिक्त एक स्वस्थ माइटोकोन्ड्रिया भएको एक दाता महिलाको पनि आवश्यक हुन्छ । यस प्रविधिमा पहिले आमाको र दाता महिलाको डिम्बलाई एकै समयमा शुक्राणुबाट निषेचन गरिन्छ र त्यसपछि दाताको निषेचित न्युक्लिसलाई डिम्बबाट निकालेर फालिन्छ । आमाको डिम्बको निषेचित न्युक्लिसलाई निकालेर दाताको खाली डिम्बमा सारिन्छ । यसरी तयार भएको डिम्बमा आमा र बाबुको वंशाणु न्युक्लियमा र दाताको केही वंशाणु माइटोकोन्ड्रियामा रहेको हुन्छ । यसरी रोगी माइटोकोन्ड्रिया नभएको डिम्ब तयार गरिन्छ । यस्तो डिम्ब विभाजन भई केही कोषहरूको भ्रूण बनेपछि यसलाई आमाको पाठेघरमा राखिन्छ । पाठेघरमा भ्रूण प्राकृतिक तरिकाले एक स्वस्थ बच्चामा विकास हुन्छ । यो उपचार विधिलाई माइटोकोन्ड्रिया प्रतिस्थापन उपचार भनिन्छ ।
तीन आमाबाबुको सन्तान जन्माउने प्रविधिबाट वैज्ञानिकले आमाको रोगी माइटोकोन्ड्रियाको सट्टामा दाताको स्वस्थ माइटोकोन्ड्रिया प्रयोग गरी बच्चा जन्माउन सफल भएका छन् । यो नयाँ प्रविधिले गर्दा आमाहरूले माइटोकोन्ड्रियाको खराबीबाट हुने अनुवांशिक रोग नसारिकन बच्चा जन्माउन सक्ने भएका छन् । यस प्रविधिमा मानवको निषेचित डिम्ब वा भ्रूण विकास हुने कोषलाई नाश गरिने हुँदा, केही व्यक्ति नैतिकताको आधारमा यस प्रविधिको विरोध गर्दछन् ।
माइटोकोन्ड्रिया प्रतिस्थापन उपचारमा आमाको डिम्बदाताको खाली कोषमा सार्दा डिम्बको साथमा केही रोगी माइटोकोन्ड्रिया पनि सर्न सक्ने खतरा रहन्छ । यस्तो भएमा शिशु स्वस्थ हुन्छ तर बालकको कोषमा रोगी माइटोकोन्ड्रियाको वृद्धि हुन सक्छ र पछि स्वास्थ्य समस्या आउन सक्छ । यस्तो शिशु बच्ची भएमा उनले रोगी माइटोकोन्ड्रिया उनको सन्तानमा सार्ने सम्भावना रहन्छ । यस उपचारमा कति रोगी माइटोकोन्ड्रिया सर्न सक्छ र यस्तो माइटोकोन्ड्रिया बालकको कोषमा कसरी वृद्धि हुन्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको छ । रोगी माइटोकोन्ड्रियाबिना नै डिम्बलाई दाताको कोषमा सार्ने प्रविधिको विकास भएमा यो उपचारमा रहेको यस प्रकारको खतरा भविष्यमा कम हुँदै जाने छ ।
संयुक्त अधिराज्यले आमाबाट रोगी माइटोकोन्ड्रियाको कारणले बच्चामा सर्ने गम्भीर स्वस्थ समस्यालाई रोक्न सन् २०१५ मा माइटोकोन्ड्रिया प्रतिस्थापन उपचारलाई कानुनी मान्यता प्रदान ग-यो । यस उपचारलाई मान्यता दिने संयुक्त अधिराज्य पहिलो राष्ट्र हो । संयुक्त अधिराज्यको केही प्रजनन क्लिनिकलाई यस्तो उपचार गर्न स्वीकृति दिइएको छ । अप्रिल २०२३ सम्ममा यस विधिबाट संयुक्त अधिराज्यमा करिब पाँच बच्चा जन्मेको अनुमान गरिएको छ । सन् २०२२ मा अस्ट्रेलियाले पनि यस उपचार विधिलाई कानुनी मान्यता प्रदान गरेकोे छ । यो उपचार विधि अझै पूर्ण परिपक्व भई नसकेको र यस्तो उपचार गर्न सक्ने क्लिनिकको अभावमा अझै यो उपचार विधिलाई अन्य राष्ट्रहरूले मान्यता प्रदान गरेका छैनन् ।