• १२ मंसिर २०८१, बुधबार

स्वराज्य, द्वैतवाद र नयाँ दर्शन

blog

के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिने विषय हुन् भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य बन्ने गर्छन् तर हामी नवीन परम्परा प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय हो । शासकीय दर्शनका रूपमा स्वराज्य, तत्व चिन्तनका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वसमेतलाई हेर्र्दै नवीन विचारको सिर्जनामार्फत हृदय परिवर्तन गराउन सक्दा ठुलो उपलब्धि हुने छ भन्ने कुरामा दुईमत नरहला । विचार र व्यवहारमार्फत शान्ति र समृद्धि प्राप्त गर्न सक्षम दर्शनको आवश्यकता आज खट्किएको प्रसङ्ग हो । सबैले आफ्नो ठान्ने राज्यका रूपमा स्वराज्य, ज्ञानका माध्यमबाट मोक्षसमेत प्राप्त गर्न सकिने मार्गका रूपमा द्वैतवाद तथा विज्ञानको ज्ञान र उपयोगितामार्फत शान्ति तथा समृद्धि प्राप्ति सम्भव हुने नयाँ दर्शनबारे पुनः मनन गर्नु आजको आवश्यकता हो । 

शीतयुद्धको समाप्तिपश्चात्का विश्वका घटनाक्रम नियाल्दा रुस–युक्रेन युद्ध, सुडान दुई देशमा विभाजित हुनु, अफगानिस्तान–इराकमा नाटो सैनिकको उपस्थिति, सिरियामा युद्ध, श्रीलङ्कामा द्वन्द्वदेखि हालै छिमेकी भारतको मणिपुरमा भइरहेको जातीय द्वन्द्वलगायत अशान्तिका क्षेत्रका रूपमा चुनौती बनेका छन् । नेपालमा पनि राजतन्त्र उन्मूलनको घटना सामान्य होइन । यस्तो विषय परिस्थितिमा उपयुक्त विचार र सूत्रहरूको उपलब्धता लाभकारी हुने हुँदा अबको दर्शनमा यो जिम्मेवारीबाट उन्मुक्त हुन सक्दैन । यही परिवेशलाई समाधान गर्न सक्ने गरी ‘स्वराज्य र मेलमिलाप’ दर्शन अस्तित्वमा आएको छ ।

विसं २०५२ बाट नेपालमा प्रारम्भ भएको द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण गर्न तयार गरिएको ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानमा निकासका लागि ‘स्वराज्य र मेलमिलाप’ सूत्रका रूपमा प्रस्तुत गरिएको थियो । त्यही सूत्रलाई पुनः पुस्तिकाका रूपमा तयार गर्दै नयाँ दर्शनकै रूपमा स्थापित गराउने प्रयत्न गरिएको हो । दर्शन र सूत्र साहित्यबारे भारतीय दार्शनिक तथा पूर्वराष्ट्रपति डा. सर्वोपल्ली राधाकृष्णनको निम्न विचार उपयुक्त रहेका छन् : 

“प्रत्येक दर्शनको निर्माणको प्रारम्भिक अवस्थामा विचारहरू बाढी झैँ उर्लेर आउँछन् र पछि गएर सूत्रका रूपमा सङ्क्षिप्त आकार धारण गर्दछन् । तत्पश्चात् सूत्रको भाष्यको समय आउँदछ । फेरि त्यसमाथि टिप्पणी एवं सारभूत व्याख्याहरू हुन्छन् र जसका कारण मौलिक सिद्धान्तमा धेरै परिवर्तन, सुधार तथा विस्तार भएर जान्छन् । भाष्य प्रश्नोत्तरका रूपमा हुन्छन् किनकि उपनिषद्को समयदेखि नै यस पद्धतिलाई जटिल र विषयलाई विशद रूपमा सम्झाउने एक मात्र उपयुक्त माध्यमका रूपमा बुझ्ने गरिन्थे । यही प्रकार भाष्यकारलाई विरोधी विचारको उत्तर दिँदै मौलिक सिद्धान्तको समर्थनका लागि उत्तम अवसर प्राप्त हुन जान्छ । यही विधिबाट त्यही विचारहरूको पुनस्र्थापना गर्दैै अन्य विचारहरूको तुलनामा यस विचारको उत्कृष्टता सिद्ध हुन जान्छ ।”

स्वराज्य र मेलमिलापलाई दर्शन र सूत्रका रूपमा बुझ्न सहज हुने उपरोक्त विचारले बहस र परिवर्तनको शृङ्खलालाई निरन्तरता दिने देखिन्छ । पूर्वीय दर्शनमा प्रसिद्ध रहेको षटदर्शन र पाश्चात्य दर्शनका भौतिकी पक्षहरूको तुलनात्मक विवेचनामा स्वराज्य र मेलमिलाप वैदिक दर्शनकै कोटीमा पर्दछ । महर्षि गौतमको ‘न्याय’, कणादको वैशेषिक, कपिलको ‘साङ्ख्य’, पतञ्जलीको ‘योग’, जैमिनीको पूर्वमिमांसा र वादरायणको ‘उत्तरमिमांसा’ अथवा ‘वेदान्त वेद’ लाई प्रमाण मान्ने वैदिक दर्शन जस्तै स्वराज्य र मेलमिलाप पनि वेद र उपनिषद्लाई आधार मान्ने वैदिक दर्शन हो ।

शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैतवाद, रामानुजाचार्यद्वारा प्रतिवादित विशिष्टाद्वैतवाद, माध्यवाचार्यद्वारा प्रतिवादित द्वैतवाद तथा निम्बकाचार्यद्वारा प्रतिवादित द्वैताद्वैत मत झैँ ‘स्वलिलया द्वैत’ लाई महत्व दिने स्वराज्य र मेलमिलापले भगवान् रामचन्द्र तथा श्रीकृष्णको लीला रहस्यलाई उजागर गर्दछ ।


“सासितूणधनुर्वाणपाणिं नक्तंचरान्तकम् ।

स्वलीलया जगन्त्रातुमार्विभूतमजं विभुम् ।।”


राम रक्षास्तोत्रमा उल्लिखित ‘स्वलिलया’ को महत्व प्रार्थनासँगै तत्व विवेचनामा पनि महत्व राख्दछ । विज्ञान, धर्म र दर्शनलाई संयोजन गर्दै जापानका योसोमिची कात्सोमोतोले तयार गरेका ‘फिलोसफी अफ जोजन’ नयाँ दर्शनका रूपमा चर्चामा रहेको छ । 

हामीले सूर्यको महìवलाई आधुनिक भौतिक विज्ञान र आध्यात्मिक परम्परालाई संयोजन गर्दै मेलमिलापका लागि प्रयोगमा ल्याएको कुराले प्रतिनिधित्व गर्न सकेको छ । ‘सन इज द सोर्स अफ लाइफ अन अर्थ’ मान्ने भौतिक विज्ञान र प्राणो वै अर्कः अर्थात् प्राणको स्रोत सूर्य हुन् भन्ने पूर्वीय मान्यतालाई राष्ट्रिय मेलमिलापका लागि पशुपति सूर्यघाटमा हवन यज्ञमार्फत अभ्यासमा ल्याउनु विज्ञान, धर्म र दर्शनको संयोजन थियो । 

सिद्ध साधनाद्वारा पशुपति सूर्यघाटमा गरिएको साधनाको फलस्वरूप जापान सोसाइटी अफ ह्युमनिस्टिक एन्थ्रोपोलोजीसँग सम्पर्क र सहकार्य सम्भव भई दुवै पक्षका समान अभियान जोडिन पुगेको थियो । सूर्य र चन्द्र विषयक ज्ञान र प्रयोग मौलिक तथा परिणाममुखी भएको कुरा प्रयोगमार्फत सिद्ध गर्न सकिएको थियो । ‘चन्द्रमा मनसोजात’ – चन्द्रमाको सम्बन्ध मनसँग छ भन्ने अवधारणा तथा प्राणको स्रोत सूर्य हुन् भन्ने धारणालाई एकसाथ साधनामार्फत प्रयोगमा ल्याउनुले धर्म, दर्शन र विज्ञानलार्ई संयोजन गर्दै नेतृत्व गर्न सक्ने अवस्थामा पनि पु¥याएको अनुभूति गर्न सकियो । विश्वका सबै मानवमा प्रत्येक घण्टा हुने स्वर परिवर्तनका कारण चन्द्रमाको परिभ्रमण हो भन्ने कुरा पनि स्पष्ट पार्न सकियो । साथै अमावस्या, पूर्णिमादेखि प्रारम्भ हुने स्वर परिवर्तनको फरक दैनिकी पनि विश्वले जान्नुपर्ने तथ्य हो । सूर्य र चन्द्रमाको प्रभाव र नियन्त्रणमा मानव शरीर रहेको कुरा प्रस्ट्याउनुका साथै परिस्थितिलाई आफू अनुकूल बनाउन सक्ने साधना पद्धति स्पष्ट बताउन सक्ने क्षमताका कारण नयाँ विश्व व्यवस्था निर्माणको आधार तयार गर्नु हो । 

बहुध्रुवीय र द्वीध्रुवीय विश्वका विषयमा चर्चा तथा प्रतिस्पर्धा भइरहेको वर्तमान अवस्थामा नयाँ दर्शन र अभियानमार्फत मौलिक विश्व व्यवस्थातर्फ ध्यानाकर्षण गराएका छाँै । नयाँ सिद्धान्त र दर्शनका रूपमा ‘स्वराज्य र मेलमिलाप’ लाई भावी विश्वको आधार तथा पशुपतिनाथ र विश्व व्यवस्थालाई सौम्य शक्तिका रूपमा प्रस्ताव गरी अगाडि बढाइरहेका छौँ । 

कोभिड–१९ को विश्वमहामारीका साथै प्राकृतिक विपत्बाट जोगिन ‘प्रकृति र ईश्वरीय विश्व व्यवस्था : अबको मार्गचित्र’ पनि विचारमै आधारित विश्व अभियान हो । विशाल दुई छिमेकी र विश्व शक्ति राष्ट्रहरूको रणनीतिक प्रभावबाट मुक्त हुने उपायका रूपमा अगाडि सारिएको ‘आर्यावर्त’ को अवधारणा पनि नवीन रणनीतिक अवधारणा हो । सबै खाले प्रतिकूलताबाट नेपाल र नेपालीलाई संरक्षणका साथै विश्वलाई पनि नयाँ दर्शन र अभियानमार्फत राहत दिने नेपाली प्रयास स्विकार्य हुने चरणमा छन् । 

यज्ञेन द्विषन्तो मित्रा भवन्ति अर्थात् यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन् भन्ने नारायण उपनिषद्को वचनलाई शान्ति दर्शनकै सूत्रका रूपमा साधनामा ल्याएको परिणामस्वरूप मेलमिलाप परिपाद तथा न्यायिक समितिमार्फत दैनिक अभ्यासमा आइरहेका छन् । स्वराज्य र मेलमिलाप सरकारी कार्यक्रम झैँ बन्न गई सुशासन, न्याय र नयाँ दर्शनको आधार प्रमाणित भएको छ । 

  

Author

केशवप्रसाद चौलागाईं