• ११ असोज २०८१, शुक्रबार

साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

blog

काठमाडौं, भदौ १३ गते । साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ । थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करणमा नेपाली युवा टोलीले समूह ‘ए’ मा साबिक विजेता भारत र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

खेलाडीलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ(एन्फा) मा बुधवार एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बिदाइ गर्नुभयो । रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली युवा टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार हुनुहुन्छ । 

डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार र सरन एसके हुनुहुन्छ । 

मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी रहनुभएको छ । च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुनेछ ।

६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् । भुटानले पछिल्ला समय यूथ फुटबलमा राम्रो गरिरहेको छ । त्यसले यो समूहबाट पूर्वच्याम्पियन भुटान र पाकिस्तानले दाबेदारी दिनसक्ने अनुमान छ ।