• ३ असार २०८१, सोमबार

जनतासँग माओवादी विशेष अभियान सञ्चालन हुने

blog

जनतासँग माओवादी विशेष अभियानबारे आयोजित पत्रकार सम्मेलन । तस्बिर : संगिता तिमिल्सेना

संगिता तिमिल्सेना

बडीमालिका (बाजुरा), भदौ १३ गते । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्नेभएको छ । पार्टीलाई रूपान्तरण गर्नका लागि जनतामाझ जाने देशभरको तीन महिने अभियान अन्तर्गत माओवादी केन्द्र  बाजुराले सो अभियान सञ्चालन गर्न लागेको जिल्ला इन्चार्ज देवकी मल्लले जानकारी दिनुभयो । 

भदौ १६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट सुदूरपश्चिमका नौ वटै जिल्लामा सो अभियानको एकै पटक औपचारिक सुरुवात गर्नुहुने भएको छ ।  

तीन चरणमा सञ्चालन हुने सो अभियानले पहिलो पटकमा जिल्लास्तरको कार्यक्रम गर्ने र त्यसपछि पालिका हुँदै वडामा कार्यक्रम गर्ने भएको माओवादी केन्द्र बाजुराले जनाएको छ ।  अभियानमा प्रत्येक पालिकामा छुट्टाछुट्टै संयोजक तोकेर कार्यक्रम सञ्चालन गर्ने भएका छन् । 

भदौ १७ देखि २१ गतेसम्म वडाको बैठक बसाउने र २२ देखि असोज ५ गते प्रत्येक वडामा जाने, पार्टीको लेवी, नवीकरण र सदस्यताका विषयमा छलफल गर्ने सो दलले जनाएको छ । जनयुद्धमा घाइते, अपाङ्गता भएका तथा बेपता परिवारका सदस्यलाई भेट्ने तथा सम्बन्ध प्रगाढ बनाउने कार्यक्रम छ । 

असोज ६ देखि ८ सम्म जिल्लाको उत्पादन सम्भावनाको अध्ययन गर्ने, ९ देखि २२ गतेसम्म आन्तरिक अन्तरक्रिया तथा अध्ययन २३ देखि ३० गतेसम्म अनुगमन गर्ने, कात्तिक १ देखि ११ सम्म आफन्तसँग भेटघाट गर्ने, १२ देखि अन्तरक्रिया गर्ने र भैलो खेल्दै जनतासँग माओवादी विशेष अभियान सम्पन्न हुने बाजुरा इन्चार्ज देवकी मल्लले बताउनुभयो ।