• १५ मंसिर २०८१, शनिबार

कैफियत देखिएका वस्तुको नमुना परीक्षण

blog

काठमाडौँ, भदौ १३ गते  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनका क्रममा ५५ वटा वस्तुको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । विभागले सो अवधिमा तीन हजार ६९५ वटा व्यवसायी फर्मको अनुगमन गरेकामा कैफियत देखिएका ५५ उद्योगका वस्तुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको हो । 

विभागका निर्देशक होमनाथ भट्टराईले अनुगमनका क्रममा गुणस्तरमै समस्या देखिएका वस्तुको परीक्षणका लागि प्रयोगशाला पठाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार विभागले सबैतिरको अनुगमन गर्ने भएकाले खाद्यवस्तुको खाद्यवस्तुसँग सम्बन्धित प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधीसँग सम्बन्धित औषधी व्यवस्थापन विभाग, खानेपानीसँग सम्बन्धित उपत्यका खानेपानी बोर्ड, नापतौलसँग सम्बन्धित नेपाल गुणस्तर तथा नापतौल विभागमा सम्बन्धित वस्तुको गुणस्तर परीक्षणका लागि पठाइएको हो । गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएका वस्तुमध्ये अधिकांश खाद्यवस्तु र औषधीजन्य वस्तु रहेको निर्देशक भट्टराईको भनाइ छ । 

विभागका अनुसार सो अवधिमा अनुगमन गरिएका व्यवसायी फर्ममध्ये एक हजार १५५ वटा व्यवसायी फर्मसँग अनुसन्धानका लागि कागजात माग गरिएको छ । विभागका निर्देशक भट्टराईले व्यवसायमा कैफियत देखिएका, एउटा व्यवसाय भनेर दर्ता गरी अर्को व्यवसाय गरेका व्यवसायी फर्मको अनुसन्धानका लागि आवश्यक कागजात उपलब्ध गराउन माग गर्दै आएको जानकारी दिनुभयो ।

सो अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ७९९ व्यवसायी फर्मलाई जरिबाना गरेर झन्डै दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । 

यस्तै सो अवधिमा ९१ व्यवसायी फर्मबाट उपभोग्य म्याद नाघेका एक करोड ६४ लाख ३२ हजार बराबरका सामान नष्ट गरेको छ । सो अवधिमा म्याद नाघेका ८३ लाख रुपियाँ बराबर पर्ने तीन हजार ६० कार्टोन बियर बरामद गरी नष्ट गरेको थियो । म्याद नाघेका, गुणस्तरहीन सामान नष्ट गरिनुका साथै ती उत्पादक तथा व्यवसायी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार अनुगमनका क्रममा कतिपय व्यावसायिक फर्मले साइन बोर्ड नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल प्रमाणपत्र नलिने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने गरेको पनि भेटिएको छ । विभागले योबाहेक व्यवसायी फर्मलाई सरसफाइ सुधार गर्न, भ्याट वा प्यान प्रमाणपत्र लिन निर्देशन दिने, स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो ।

विभागले दैनिक उपयोग्य वस्तु अन्तर्गत खाद्यवस्तु, भाँडाकँडा, लत्ताकपडा, खानेपानी उद्योग, औषधी, मासुजन्य, पेट्रोलियम पदार्थ, तरकारी, फलफूललगायतमा अनुगमन गर्दै आएको छ । ती वस्तुको अनुगमनका चर्को मूल्य लिने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गरेका, व्यवसाय दर्ता नगरेका र बिलबीजकबिना कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ । खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिएर कालो बजारी गर्ने, मूल्य वृद्धि जस्ता अवाञ्छित गतिविधि गर्ने व्यवसायीलाई विभाग, जिल्ला प्रशासन कार्यालय लगायत निकायले संयुक्त बजार अनुमगन गरेर कारबाही वा जरिबाना हुँदै आएको छ ।