• ६ जेठ २०८१, आइतबार

अर्थतन्त्र उकास्न सुझाव

blog

नारायणगढ समाचारदाता

भरतपुर, भदौ १३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अर्थतन्त्रमा कठिनाइ आएका बेला मौद्रिक नीतिले मात्रै अर्थतन्त्र तङ्ग्रिन नसक्ने बताउनुभएको छ । भरतपुरमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले खस्कँदो अर्थतन्त्र उकास्न मौद्रिक नीतिसँगै अर्थ मन्त्रालयले वित्तीय नीति अगाडि सार्नुपर्ने सुझाव दिनुभयो ।

“मौद्रिक नीतिले केही सहयोग पु-याउन सक्छ तर यसैका आधारमा मात्रै अर्थतन्त्र तङ्ग्रिन सक्दैन । यदि देशको अर्थतन्त्र सुधार्ने हो भने वित्तीय नीतिलाई अर्थ मन्त्रालयले अगाडि सार्नु पर्छ,” उहाँको स्पष्ट भनाइ थियो ।  

“वित्तीय नीति आउँदै गर्दा मौद्रिक नीतिले अप्ठ्यारो पार्ने अवस्था भए त्यसलाई अर्थ मन्त्रालयले राष्ट्र बैङ्कलाई समेत सचेत गराउन सक्ने नैतिक बल पाउँछ । यसले अर्थमन्त्रीलाई नै बलियो बनाउँछ,” उहाँले भन्नुभयो । 

डा. रिजालले राष्ट्र बैङ्कलाई मात्रै हेरेर नभई अर्थ मन्त्रालयले आफैँ आर्थिक क्षेत्र तङ्ग्रिन सक्ने बाटो खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “देशको अर्थतन्त्र समस्यामा छ । अर्थतन्त्रमा केही दीर्घकालीन कठिनाइ छन्,” उहाँले थप्नुभयो, “अर्थमन्त्री ‘प्रोएक्टिभ’ हुनुभयो भने राष्ट्र बैङ्कले सहयोग नगरी धर पाउँदैन ।” नेपालमा अर्थतन्त्र समस्यामा पर्नुमा भूकम्पदेखिकै शृङ्खला जोडिएको उहाँको भनाइ छ । 

अर्थतन्त्रमा देखिएको समस्याबाट मुक्ति पाउने कुरामा अन्तर्राष्ट्रिय परिस्थिति पनि चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।