• २५ वैशाख २०८१, मङ्गलबार

जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : नेता पुन

blog

नेकपा (माओवादी केन्द्र) मङ्गलबार उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै पूर्व अर्थमन्त्री एवम् पार्टी नेता वर्षमान पुन । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, भदौ १२ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताउनुभएको छ ।  मङ्गलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले जनतको सो अपेक्षामा ठेस लाग्न दिन नहुने जिकिर गर्नुभयो ।

उपमहासचिव पुनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताउनुभयो । राजनीतिक विधिमा पार्टी र निश्चित सामञ्जस्यमा समाज चल्नुपर्ने उहाँको भनाइ छ ।

‘‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्ड वरिपरीका नेताहरु नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरु हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ ।,’’ उपमहासचिव पुनले भन्नुभयो, ‘‘आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शून्यता हुन्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामञ्जस्यमा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ ।’’

उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढङ्गबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताउनुभयो ।