• ११ असोज २०८१, शुक्रबार

करार चिकित्सकको भरमा हुम्ला जिल्ला अस्पताल

blog

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्ला । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, भदौ ११ गते । स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी तीन जनाको भए पनि दरबन्दीअनुसार एक जना पनि चिकित्सक छैनन् । करारमा एक जना विशेषज्ञ डाक्टर मात्र अस्पतालमा कार्यरत हुनुहुन्छ । विशेषज्ञ डाक्टर मात्र होइन, हुम्ला अस्पतालमा मेडिकल अधिकृत एक जना पनि स्थायी दरबन्दीमा हुनुहुन्न ।

करारका पाँच जना मेडिकल अधिकृत र करारकै एक जना विशेषज्ञ डाक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् ।

स्थायी चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको छ । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् । कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले पूर्वाधार र जनशक्तिको अभावबीच सेवा प्रवाह भइरहेको बताउनुभयो । 

उहाँका अनुसार १५ शैयाको स्वीकृति पाएको अस्पतालले बेड सङ्ख्या बढाएर २३ शय्याबाट सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा हुम्लाबासीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाबाट धेरैजसो बिरामी उपचारका लागि जिल्ला अस्पतालमा रेफर गरिन्छन् । तर अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता नागरिकलाई छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

जनशक्ति अभावका कारण समस्या झेलिरहेको हुम्ला अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । साँघुरो भवनबाट सेवा प्रवाह भइरहेको छ । वि.सं. २०४२ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीको चाप धेरै हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न समस्या हुनेगरेको छ ।

अस्पतालमा बिरामीको चाप निकै बढेको छ । मौसमी रोगका बिरामीका साथै दीर्घरोगीहरू उपचारका लागि अस्पतालमा आउनेगरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवा थप्दै जाँदा भवन साँघुरो हुँदैगएको प्रमुख सिंहले जानकारी दिनुभयो । 

नयाँ भवन निर्माणको काम भइरहे पनि अहिले अस्पतालले ३८ वर्ष पुरानो कार्यालयबाटै सेवा दिनुपर्दा कठिन हुनेगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो्, ‘३८ वर्ष पुरानो भवनबाट सेवा दिँदा समस्या भएको छ । हाल सेवाग्राहीको सङ्ख्या बढ्दो क्रममा छ । अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन्, भवनको संरचना कमजोर छ ।’

अस्पतालमा दैनिक सरदर एकसय बिरामी उपचारका लागि आउनेगरेका छन् । अस्पतालमा श्वासप्रश्वासका बिरामी धेरै नै आउनेगरेका हुन् । विशेषज्ञ डाक्टर नहुँदा जटिल उपचार सेवा प्रभावकारी बन्न सकेको छैन । दरबन्दीअनुसार डाक्टरको पदपूर्ति नहुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

हुम्लामा यातायातको भरपर्दो माध्यम भनेको हवाई सेवा हो । दक्ष जनशक्ति नहुँदा बिरामीको रेफर गर्नुपर्ने बाध्यता जिल्ला अस्पताललाई छ । हवाई उडान नियमित हुँदैन । जिल्ला अस्पतालमा स्रोत साधनको अभाव र जिल्ला बाहिर लैजान हवाई सेवा अवरुद्ध भएका कारण उपचार नपाएर अकालमै नागरिकको ज्यान जाने गरेको छ । 

जिल्ला बाहिर जाने एक मात्र विकल्प हवाई सेवा अवरुद्ध हुँदा बिरामीले अकालमा ज्यान गुमाइरहेका छन् । अर्कोतर्फ जिल्ला अस्पतालमा औषधि र स्वास्थ्यकर्मी अभाव हुने हुँदा नागरिक सेवाबाट वञ्चित भइरहेका छन् ।