• १२ मंसिर २०८१, बुधबार

पाल्पा अस्पतालमा बिरामी बढ्दै

blog

उपचारका लागि पाल्पा अस्पतालमा आएका बिरामी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ ११ गते । अस्पतालको सेवा तथा व्यवस्थापन सुधार हुँदै गएपछि पाल्पा अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । नियमित चिकित्सकबाट उपचारको व्यवस्था, निशुल्क औषधिको व्यवस्था, स्वास्थ्यकर्मीको सेवाग्राहीमैत्री व्यवहार तथा अन्य कार्यमा सुधार देखिएपछि बिरामी सेवा लिन सरकारी अस्पतालमा आउने गरेका हुन् । 

केही वर्षअघिसम्म दैनिक ५० जना बिरामीले सेवा नलिने अस्पतालमा पछिल्लो समय तीन सयभन्दा बढी बिरामीले सेवा लिन थालेको अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. विवेक भण्डारीले बताउनुभयो । पुरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति नभए पनि अस्पतालको सेवा विस्वस्नीय बन्दै गएको उहाँले बताउनुभयो । 

अस्पतालमा हाल १५ वटा शय्या छन्, ती सबै शय्यामा बिरामी भर्ना भएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले दिने न्यूनतम सेवा प्रवाहलाई सहज बनाएपछि बिरामी उपचारका लागि पाल्पा अस्पतालमा आउने गरेको डा. भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म भर्ना भएर उपचार सेवा लिने हिच्किचाउने बिरामी अहिले अस्पतालमा भर्ना भएर आकस्मिक सेवा लिन थालेका छन् ।” 

बिरामीको चापलाई दृष्टिगत गर्दै अस्पतालले बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन गरेको छ । यस्तै, फार्मेसीमा पर्याप्त औषधि व्यवस्थापन गरिएको छ भने शौचालय सुधार, ल्याब सेवामा सुधार गरिएको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । बिरामीको सङ्ख्या बढेपछि ओपिडी व्यवस्थापन तथा चिकित्सकको सङ्ख्या थप गरिएको छ । भर्ना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा, रेडियोलोजिष्ट लगायतका विशेषज्ञ सेवा थप गरिएको छ भने बिरामीका लागि प्रतीक्षालय निर्माण, अक्सिजन प्लाण्टबाट सेवा प्रवाह गरिएको अध्यक्ष आत्रेयले जानकारी दिनुभयो । 

अस्पतालले गतवर्ष ९० हजार ५६ जना बिरामीलाई विभिन्न उपचार सेवा दिएको जनाएको छ । अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा १८ हजार १७७ जनालाई प्रयोगशाला सेवा, ६० हजार १५० जनालाई फार्मेसी सेवा, ४५७ जना भर्ना गरेर आकस्मिक सेवा दिएको छ । यस्तै, दुई हजार ८६८ लाई आकस्मिक सेवा, ३६ जनालाई प्रसूति सेवा, २९८ जनालाई सुरक्षित गर्भपतन सेवा, एक हजार १२८ जनालाई इसिजी सेवा दिएको जनाएको छ ।