• १२ मंसिर २०८१, बुधबार

त्रिविको प्राज्ञिक स्वास्थ्य उपचार

blog

त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र बुढोपाको विश्वविद्यालय हो । बुढेसकालमा यो विश्वविद्यालयले के अपेक्षा गरिरहेको होला भन्ने चौतर्फी चाँसो हुनु स्वाभाविक हो । वर्तमान अवस्थमा यो विश्वविद्यालयका विगतका निराशाका चाउरीहरू केही हटेका छन् । असमयमै र केहीका अकर्मण्य गतिविधिका कारण उठेका चाउरी पूरै हटून् भन्ने नै त्रिविको चाहना छ । 

त्रिवि सुधार्न सर्वप्रथम त्रिविका सन्तान र तिनका एकाइले राम्ररी काम गर्नुपर्ने हो तर यहाँ केही लोभका, लाभका, पद पाउनाको भोकका, पद नपाउँदाको झोँकका र ड्युटीफोबिया आदिका जीवाणु र लक्षण पनि देखिएका छन् । यो रोग बढ्ने र त्यस्तो रोगले नछोएकाहरूमा समेत सल्कने खतरा बढ्दै गएको छ । त्यसैले बुढो विश्वविद्यालय अहिले चिन्तित छ । प्राज्ञिक र कर्मण्य भनी सुनाम कमाएको त्रिविले आफूभित्रका केहीमा सङ्क्रमित अप्रज्ञिकता र अकर्मण्यताका रोगको उपचार खोजिरहेछ ‍। त्रिविमा देखापरेका यस्ता केही जटिल रोगको निदान र उपचार गरिहाल्नु पर्ने जरुरी भएको छ । 

परीक्षा प्रणाली त्रिविको श्वासप्रश्वास प्रणाली हो । यही प्रणालीमा गम्भीर खराबी देखिँदै छ र त्यसको सघन उपचार अनिवार्य र जरुरी भएको छ । परीक्षा नियन्त्रण कार्यालयमा शक्तिशाली परीक्षा नियन्त्रक र थुप्रै सहनियन्त्रक हुन्छन् । यस संवेदनशील निकायलाई विश्वविद्यालयका रजिस्ट्रारले परीक्षा समितिको प्रमुख भएर थप नियन्त्रित गरेका हुन्छन् । त्यसपछि यसको लगाम कार्यकारी हुँदै उपकुलपतिसम्मै पुगेको हुन्छ भने यो निकायले लिने परीक्षामा चरम ढिलासुस्तीको भाइरस कसरी पस्छ ? 

पठनपाठन सम्पन्‍न भएको छ महिनासम्‍म पनि परीक्षा नहुनु र परीक्षा सकिएको १८ महिनासम्म पनि नतिजा प्रकाशन गर्न नदिने त्यो भाइरसले त्रिविलाई थला पारेको कुरोको उपचार किन हुन्न ? के यसको उपचार हुनै नसक्ने हो ? समयमा परिणाम निकाल्न नसक्ने भाइरस–सङ्क्रमित मुख्य जिम्मेवारलाई र सहजिम्मेवारलाई आइसोलेसनमा राख्ने वा स्वतः पदबाट हटाउने नियम बनाए यो रोगको उपचार हुन्थ्यो कि ? ढिलासुस्ती सङ्क्रमित परीक्षामा संलग्न कर्मचारी र शिक्षकलाई नसियत स्वरूप इमर्जेन्सी उपचार गरे यो भाइरस पुनः नबल्झिने गरी निमिट्यान्न हुन्थ्यो कि ? अनि मात्र यो बेथिति अन्त्य भई अव्यवस्थाको गतिबाट त्रिवि उम्केला नत्र पछि यो फोक्सोको क्यान्सरसम्म बनेर सिङ्गो त्रिभुवन विश्वविद्यालयलाई नै घाटमा नपु-याउला भन्न सकिन्न । 

केही व्यक्तिको गैरप्राज्ञिक र गैरपेसागत गतिविधि विश्वविद्यालयभित्रका घातक रोग हुन् । दिनदिनै हाजिर गर्नसमेत झिजो लागेर मेसिन बोकेर दुगुर्ने प्राध्यापक (?) र तिनैको समर्थनमा उस्तै परे विज्ञप्ति निकाल्ने तर विश्वविद्यालयमा महिनौँ  तालाबन्दी हुँदा पनि कानमा तेल हालेझैँ गरेर बस्ने प्राध्यापक सङ्घले पनि क्रमशः आफ्नो प्राज्ञिक चरित्रको ज्योतिलाई राजनीतिक चरित्रको पर्दाले छेकेको अरूले देखिरहेछन् र त्रिवि खत्तम भयो भन्नेहरूका आगोमा घिउ थप्न त्यस्ता गतिविधिले सहयोग पु-याएकै छ । 

कर्मचारीतन्त्र त्रिविको प्रशासनिक पिलर हो र कर्मचारीतन्त्रको ठुलो हिस्साले यसलाई आफ्नो बलियो काँधले थामिरहे पनि अपवादका रूपमा केही कर्मचारी पूर्ण रूपमा सेवाग्राही मैत्री नहुनु विश्वविद्यालयको अर्को रोग हो । मुस्कानसहितको सेवा हुनुपर्नेमा ठुस्कानसहितको सेवामा केही कर्मचारी प्रस्तुत भएको गुनासो सुनिनु राम्रो होइन । पञ्चायतकालमा जनता तर्साउन मुठे जुँगा पाल्ने प्रहरीलाई जुँगा भत्ता दिइन्थ्यो रे । 

सेवाग्राहीसँग मुस्कुराउन कर्मचारीलाई मुस्कान भत्ताको थप व्यवस्था गर्नुपर्ने पो हो कि भन्ने पो लाग्दै छ । तलब र दैनिक थप भत्तासमेत लिनेमध्येकै कुनै कसैले एकै दिनमा बाह्र पटक बैठक भत्ता र बाह्र पटक खाजा खाएको रेकर्ड महालेखाले भेटेर लेखनीसमेत गरेको छ । तलब भत्ता र एकदिनको बाह्र पटक बैठक भत्ता त हजम हुन सके होला तर बाह्र पटकको खाजाचाहिँ निज व्यक्तिले कसरी खायो होला भन्ने प्रश्न उब्जिएको छ । 

वैचारिक पेसागत सङ्गठनका कतिपय गैरपेसागत विचार व्यवहार, वास्तविक पेसाभन्दा पनि दृश्यअदृश्य धन्दा पेसामा लाग्ने वैचारिक सङ्गठनका केही नेताको प्रवृत्ति, वैचारिक सङ्गठनकै केही वरिष्ठले सिङ्गो सङ्गठनलाई मुठ्ठीको माखो सम्झने र पङ्गु बनाउने अनि आफ्नो पदको कद बिर्सेर त्रिविमा छाया पदाधिकारी बन्न खोजेर त्रिविका सङ्गठनभित्र कुशासनको अवैध अभ्यास गर्न खोज्ने प्रवृत्ति पनि यहाँ सुकेलुतो बनेर मौलाइरहेको छ ।

हिजोका नियुक्तिमा पनि दक्षता र सक्षमताको हुर्मत लिने गरी राजनीतिक प्रभाव देखिनु, राजनीतिक पहुँच, आर्थिक चलखेल आदिका आधारमा अनौचित्यपूर्ण सम्बन्धन दिइनु, सम्बन्धन दिँदा त्रिविमा आङ्गिकलाई हेप्ने र साहुजीका निजी क्याम्पसलाई काखी च्याप्ने रहस्यमय प्रवृत्ति रहनु, विद्यार्थी सङ्गठनका केही नेताका रहस्यमय शैलीमा गरिने विशाल कारोबार र अस्वाभाविक जीवनशैली जस्ता गतिविधिले त्रिविको अनावश्यक दोहन हुँदो छ भने यसो गर्ने केही सीमित व्यक्तिका कारण समग्र विद्यार्थी सङ्गठनको ऐतिहासिक र गरिमामय छवि धूमिल हुँदै गएको छ । 

दशकौँदेखि कक्षा लिइरहेका करार, अन्य प्राध्यापक र कर्मचारीलाई सेवामा नियमित गर्नुको सट्टा ‘चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो’ झैँ गरी अपमानित गर्नेहरूले पनि त्रिविलाई सन्चो हुन दिएका छैनन् । जग्गादाताको मन कुड्याएर पनि त्रिविलाई आराम हुँदैन । विशेष गरी पछिल्लो कार्यकालमा यससँग सम्बन्धित गरेका केही दूरगामी महत्वका सकारात्मक निर्णयहरूले त्रिविले केही सन्तोषको सास फेरिरहे पनि बेलाबेला लाञ्छनाका आग्रहपूर्ण झटाराहरू त्रिवितिर हिर्काइएको यथार्थ लुकेको छैन । 

त्रिविको गरिमामय इतिहास र गौरवमय संस्कृति छ र यो गौरव जीवन्त राख्ने तप्का यहाँ सशक्त छ । यहाँका कर्मठ, इमानदार र पेसाप्रति निष्ठावान् प्राध्यापक र कर्मचारीहरूको ठुलो समूह छ । देशभरि फैलिएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले राष्ट्रमा दक्ष जनशक्तिको आपूर्तिमा जसोतसो भूमिका निर्वाह गरेकै छन् । यो अन्तर्राष्ट्रिय रूपमा चर्चित विश्वविद्यालयसँग कुम जोड्न उद्यत छ । त्रिवि अहिले विश्वका ५०० उत्कृष्ट विश्वविद्यालयभित्र पर्न सफल भएको छ । यसले प्रविधिमा फड्को मार्दो छ । ढड्डा युगको कर्मचारी प्रशासन पेपरलेस जमानामा प्रवेश गरेको छ । कार्यालयको कामका लागि इलाम र डोटीदेखि काठमाडौँ धाउनुपर्ने धपेडीको अन्त्य भएको छ । अनुसन्धानमा प्रचुर बजेट व्यवस्था भएको छ र अनुसन्धान धमाधम भइहेछन् । त्रिविका हितैषीहरूका कान यस्ता गतिविधि सुन्न थप लालायित छन् । 

राम्रो चिज बिगार्न धेरै नचाहिँदो रहेछ । बिग्रेपछि त्यसको अपजसको भारी राम्रो गर्नेलाई पनि बोकाइँदो रहेछ र खटिएर काम गर्नेको चित्त दुखाइँदो रहेछ । रोग बल्झिएर क्यान्सर नबनोस् । किनकि क्यान्सर निमिट्यान्न पार्नुपर्यो भने राम्ररी काम गरिरहेका अरू अङ्गलाई नै सेक्ने र नराम्ररी डाम्ने गरी केमोथेरापी गर्ने मेडिकल प्रचलन छ । 

त्रिविमा सेवारत सबै रोगी छन् भनेर समस्यालाई एउटै बास्केटमा हालेर हेर्नु उपयुक्त होइन । त्यसैले जहाँ समस्या छ, त्यसको त्यहीँ पहिचान हुनु, जुन रोग छ त्यसको द्रुत निदान हुनु र निदान भएको रोगको शीघ्र उपचार हुनु त्रिविको प्राज्ञिक र प्रशासनिक स्वास्थ्यका लागि निकै जरुरी छ । 

  

Author

प्राडा ऋषिराम शर्मा