• १० मंसिर २०८१, सोमबार

हिमाल पारीको मनाङमा मैत्रीपूर्ण फुटबल

blog

काठमाडौं, भदौ १० गते । हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुन लागेको हो । 

आइबार आयोजित पत्रकार सम्मेलनमा बाइकोस नेपाल र एन्ट फाउण्डेसनले हिमाल क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिएको छ ।

समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, ३१०० मिटर उचाईमा रहेको पिसाङ र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा तीन वटा मैत्रीपूर्ण फुटबल हुने बताईएको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्का र अनिल गुरुङ उक्त अभियानमा रहनुहुनेछ । उहाँहरुले मैत्रीपूर्ण फुटबल पनि खेल्ने आयोजकले जनाएको छ ।

मैत्रीपूर्ण फुटबलमा मनाङ याक, पिसाङ याक र कान्जिसार याक गरी तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फुटबल स्टारसहित विभिन्न क्षेत्रका १८ जना सेलिब्रिटी र स्थानीयको समेत सहभागिता रहनेछ । 

आगामी सेप्टेम्बर ११ मा तिमाङमा, सेप्टेम्बर १२ मा पिसाङमा र सेप्टेम्बर १२ मा चामे, पिसाङ र मनाङका युवासम्मिलित टोलीको फुटबल हुने आयोजक एन्ट फाउन्डेसनका प्रमुख डा.पारस विक्रम  सिंहले जानकारी दिनुभयो ।

नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर अनिल गुरुङले मनाङसँग आफ्नो भावनात्मक नाता रहेको र यस पटक मनाङमा नै गएर फुटबल खेल्ने पाउनु खुशीको क्षण रहेको प्रतिक्रिया दिनुभयो । पत्रकार सम्मेलनमा सहभागी टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।