• १८ वैशाख २०८१, मङ्गलबार

'हाम्रो खुसी' पाठ्यक्रम लागु हुने

blog

बोमलाल गिरी

नवलपुर, भदौ १० गते । नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गर्दै ‘हाम्रो खुसी’ (आवर हेप्पीनेश) पाठ्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि गृहकार्यलाई तीव्रता दिइएको छ । 

यो पाठ्यक्रम आगामी आर्थिक वर्षदेखि नगरपालिकाका एकदेखि ८ कक्षासम्मका सबै विद्यार्थीका लागि लागु गरिने नगरपालिकाले जनाएको छ । पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपियाँ रकम विनियोजन गरेको छ । सबैले शिक्षामा नयाँ स्वाद पाउने गरी यो पाठ्यक्रम निर्धारण गर्न लागिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो । 

विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुंगा साबित हुने नगरपालिकाको विश्वास छ । "हामीले धेरै नम्बर ल्याएर उत्तिण हुनु र भोली घर, घडेरी, गाडी जस्ता भौतिक सुविधा जोड्नुलाई नै सफलता ठान्यौँ, यसले समाजलाई ध्वंसात्मक र  विद्यार्थीलाई रोबोर्ट जस्तो बनाउने काम गर्‍यो, एकले अर्कोलाई सम्मान गर्न नजान्ने र मानवीयता हराउँदै गएको आभास भयो", नगरप्रमुख अधिकारीले भन्नुभयो, "विद्यार्थीमा अनुशासन र संस्कार हराउँदै गएको र उद्दण्डता बढ्दै गएको देखिएपछि स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र अभिभावक पनि खुसी हुने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम तयार गरिँदै छ ।"

चरणबद्ध काम 

पाठ्यक्रम तयार गर्नका लागि नगरपालिकाको पहलमा विभिन्न चरणका काम भइसकेका छन् । पहिलो चरणमा भारत सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको भारतीय शिक्षा बोर्डका सल्लाहकार तथा मानव मूल्य र रूपान्तरण सिकाइ सेल, दिल्लीका सदस्य, जीवनविद्यताका प्रवोधक श्रवणकुमार शुक्लासहितको टोलीले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण तालिम दिएको छ । 

दोस्रो चरणमा नगरप्रमुखसहित ३५ जनाको टोलीले दिल्ली भ्रमण गरेर त्यहाँ पाठ्यक्रम लागु भएका विद्यालयहरूको अवलोकन गर्‍यो । लगत्तै नगरपालिकाले पाठ्यक्रम तयार गर्नका लागि नवजागरण मावि चोरमाराका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र (करिकुलम स्टडी एण्ड रिसर्च सेन्टर-सीएसआरसी) गठन गरेको छ । त्यसपछि टोलीले सात दिनसम्म आवासीय कार्यशाला गर्‍यो । जसले आधारभूत तहको (एकदेखि आठसम्म) पाठ्यक्रम ढाँचा तयार गरेको  सीएसआरसीका सदस्य एवम् कुमारवर्ती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्णचन्द्र गिरीले जानकारी दिनुभयो । 

पुनः पाँच दिने आवासीय कार्यशाला गरी कथा र गतिविधिको माध्यामबाट बालबालिकामा विचारशिलता तथा जीवन मूल्य र सम्बन्धबोध गराउने हेतुले यी सामग्री तयार पारिएको सहायक प्रअ गिरीले बताउनुभयो । अर्को चरणमा यसलाई अन्तिम रूप दिएर आगामी शैक्षिक सत्र २०८१ देखि लागू गराउने गरी काम भइरहे सीएसआरसको गिरीको भनाइ छ । अब क्रमशः सबै शिक्षकलाई तालिम दिने, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिम दिने सीएसआरसीका संयोजक देवकोटाले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालय छन् । 

खुसी भएर बाँच्न सिकाउने

खुसी हुनका लागि नभई खुसी भएर जिउनका लागि यो पाठ्यक्रम कोशेढुङ्गा हुने नगरप्रमुख अधिकारीको भनाइ छ । "नारामा गुणस्तरीय शिक्षाको कुरा धेरै पहिलेदेखि चर्चामा रह्यो, धेरै नम्बर र धेरै जिपिए ल्याउनेलाई गुणस्तरीय शिक्षा भनियो । तर विशिष्ट तहमा पास हुने मात्र गुणस्तरीय शिक्षा होइन रहेछ", नगरप्रमुख अधिकारीले भन्नुभयो, "त्यसका लागि जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठ, राष्ट्रप्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग जोडिएका कुराहरू पनि गुणस्तरीय शिक्षामा पर्दोरहेछन् । त्यो कुरालाई मध्यनजर गरेर मध्यविन्दु नगरपालिका हाम्रो खुसी पाठ्यक्रमलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।"

‘हाम्रो खुसी’ भारतमा सफल

'हाम्रो खुसी' पाठ्यक्रम पहिलो पटक भारतको नयाँ दिल्लीमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले लागु गर्नुभएको हो । त्यहाँ सन् २०१६ देखि २०१८ सम्म दुई वर्ष अध्ययन अनुसन्धान गरेर २०१८ देखि लागू गरिएको थियो । शिक्षाको माध्यामबाट विद्यार्थीलाई जीवनबोध गराउनु यसको मध्यमार्गी दर्शन मानिन्छ । 

भारतमा लागु यो पाठ्यक्रमको अनुसन्धान गर्दै अमेरिकाको वोस्टन युनिभर्सिटीको अध्ययनले भनेको छ, "विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तार तथा शैक्षिक सुधार भएको आत्मविश्वास, अभिव्यक्ति र अन्तरकृयाको तह वृद्धि भएको छ ।"

मध्यविन्दु नगरपालिकामा लागु भएर सफल हुनेमा पाठ्यक्रम निर्धारण गर्नमा सुरुदेखि सक्रिय रहेका सीएसआरसीका सदस्य गिरीको विश्वास छ । "गुणस्तरीय शिक्षाको नाममा खुसी खोज्न सुविधा बढाउँदै लगियो तर जुन तहमा सुविधा बढ्दै गयो, त्यो अनुसारको खुसी प्राप्त भएन र पारिवारिक सम्बन्ध पनि विस्तार भएन", गिरी भन्नुहुन्छ, "त्यसैले यो पाठ्यक्रमले व्यक्तिमा तनाव, परिवारमा कलह, समाजमा भय र प्रकृतिमा देखिएको असन्तुलन कम गर्न मद्दत गर्नेछ ।"