• २५ पुस २०८१, बिहिबार

‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले अमेरिकी विकास नियोग (युएसएआइडी) र सुआहाराको सहकार्यमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले  ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको हो । 

उक्त मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्तालाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोगसम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन  ‘मेरो पोषण साथी’ मोबाइल एप उपयोगी हुने बताउनुभयो ।  

मन्त्री बस्नेतले भन्नुभयो, ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दुध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्त्व हुन्छ । तर आमाको दुध राम्रोसँग आउनका लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’ 

मन्त्री बस्नेतले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छकी छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।  स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताउनुभयो ।  

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.सङ्गीता मिश्रले सबै नागरिकलाई एक्लाएक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राख्नुभयो ।  

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमनजस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।  

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्‍याउन  महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताउनुभयो । 

उहाँले ७३ प्रतिशत नेपालीको हातमा मोबाइल पुगेकाले मोबाइलको माध्यमबाट सूचना पुर्‍याउन सहज र प्रभावकारी हुने भएकाले एप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेषगरी पहिलो पटक आमा बन्दै गरेका महिलालाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताअनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिविद्धतालाई पुनः पुष्टि गरेको छ । नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैँ हातेमालो गर्नेछ ।’