• २४ वैशाख २०८१, सोमबार

अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या

blog

स्वास्थ्य सेवा कार्यालय कालीकोटले सेवा प्रवाह गरिरहेको अस्थायी टहरो । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, भदौ ९ गते । जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । 

वि.सं. २०४३ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको पुरानो भवन भत्काइएको ६ वर्ष पुगेको छ । नयाँ भवन निर्माण गर्ने भन्दै सो भवन भत्काइएको हो । 

हाल अस्पतालको सेवा अस्थायी रूपमा टिनको टहरोबाट प्रवाह गरिएको छ । २०७२ मा निर्माण गरिएको ट्रस्टको भवनबाट अस्पतालको रूपमा सेवा प्रदान गरिएको छ । सेवाग्राहीको चाप बढ्दा उक्त अस्थायी भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालयका निमित्त प्रमुख डा. सङ्केत विश्वकर्माले बताउनुभयो । 

सेवाग्राहीको चाप बढ्दा उक्त अस्थायी भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालयका निमित्त प्रमुख डा. सङ्केत विश्वकर्माले बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक सरदर दुई सय बिरामी उपचारका लागि आउनेगरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदैगएको विश्वकर्माले जानकारी दिनुभयो । 

साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै हुनेगरेको छ । ‘अहिले अस्पतालमा बिरामीको चाप बढी छ । सुत्केरी सङ्ख्या पनि बढेको छ,’ प्रमुख डा. विश्वकर्माले भन्नुभयो, ‘भवन अभावका कारण ठाउँ साँघुरो भएको छ । सेवा दिन पनि समस्या छ ।’ 

अप्रेसन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको उहाँले बताउनुभयो । इमरजेन्सी, अपरेसन थिएटर, ल्याब लगायतका सेवा प्रवाह गर्न समेत समस्या भएको छ । सम्झौताअनुसार नयाँ भवन निर्माणको काम एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । 

२०७५ असोजमा भएको ठेक्का सम्झौतामा चार वर्षमा काम सम्पन्न गर्ने सहमति छ । तर हालसम्म भवन अस्पताललाई हस्तान्तरण गरिएको छैन । अस्पतालको सेवा भने टिनको छाप्रोबाट प्रवाह भइरहेको छ । अस्पतालको भवन बनाउन डाँफे क्यारावान सुपरस्टार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको २१ करोड रुपियाँ बजेटमा निर्माण सम्झौता गरिएको छ ।

निर्माण कम्पनीले जतिसक्दो छिटो भवन हस्तान्तरण गर्ने जनाएको छ । व्यवसायी तारा शाहीले आउँदो असोजमा अस्पताललाई भवन हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०७५ असोजमा चार वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । कोरोनाका कारण दुई वर्ष काम हुन सकेन । विविध कारणले समय पर धकेलियो । अब भवन निर्माणको काम सकिएको छ । असोजमा भवन हस्तान्तरण गर्छौँ ।’

छैनन् जनशक्ति

एकातिर भवनको समस्या झेलिरहेको अस्पतालले अर्कोतर्फ जनशक्ति अभावको समस्या पनि बेहोरिरहेको छ । दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदैआएको छ । १५ शय्याको मान्यता पाएको उक्त अस्पतालले २७ शय्याबाट सेवा दिइरहेको छ । 

अस्पतालमा ४४ जनाको स्थायी दरबन्दी भए पनि हाल २७ जना कार्यरत छन् । १७ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । विशेषज्ञ चिकित्सकको दरबन्दी तीन जनाको छ । तीन वटै दरबन्दी रिक्त छन् । चिकित्सक नहुँदा अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह हुन सकेको छैन ।

अस्पतालमा रहेको अक्सिजन प्लान्ट ६ महिनादेखि बिग्रेको छ । जसलेगर्दा सिलिण्डरको भर पर्नुपरेको उहाँले बताउनुभयो ।  

दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको अस्पतालका प्रमुख डा. विश्वकर्माले बताउनुभयो । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट ६ महिनादेखि बिग्रेको छ । जसलेगर्दा सिलिण्डरको भर पर्नुपरेको उहाँले बताउनुभयो ।