• २६ वैशाख २०८१, बुधबार

प्रदेश सरकारद्वारा विपत् प्रतिकार्य योजना निर्माण

blog

धनगढी समाचारदाता

धनगढी, भदौ ९ गते । सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो । 

यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ । 

यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयका निमित्त सचिव विश्वद्वीप बेस्राले जानकारी दिनुभयो । कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने जनाइएको छ । 

जोखिम न्यूनीकरण र पूर्वतयारी कसरी गर्ने, घटना हुनेबित्तिकै कसरी प्रतिकार्य गर्ने जस्ता विषयमा जिम्मेवारी तोकिएको छ । सरोकारवाला निकायसँगको छलफल, प्राविधिक विश्लेषण र विगतको अनुभवका आधारमा जोखिम आकलन गरेर त्यसको पूर्वतयारी र प्रतिकार्यको स्पष्ट खाका कार्ययोजनामा समेटिएको मन्त्रालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश विपत्को हिसाबले उच्च जोखिममा छ । मनसुनको समयमा प्रत्येक वर्ष बाढी, पहिरोलगायतका अन्य पानीजन्य विपत्का कारण जनधनको क्षति हुने गरेको छ । कमजोर भौगर्भिक बनावट भएका पहाडका फेदीहरू र चुरे क्षेत्रबाट बगेर आएको बालुवा तथा ग्राभेल थुप्रिनाले बस्ती तथा कृषियोग्य जमिन कटान हुने गरेको विपत् प्रतिकार्य योजनामा छ । 

कर्णाली र महाकाली नदी एवं अन्य सहायक नदी र महाभारत तथा चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीनाला तथा खोल्साहरूले  कैलाली र कञ्चनपुर जिल्लालाई प्रभावित गरेका छन् । जमिन कटान, भूक्षय, भूस्खलनबाट पहाडी जिल्लाहरू प्रभावित हुने गरेका छन् ।

एक लाख सतचालीस हजार प्रभावित 

कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या रहेको यो प्रदेशमा यस वर्षको मनसुनबाट एक लाख ४७ हजार ६० जना व्यक्ति र ३३ हजार ६५२ घरधुरी प्रभावित हुन सक्ने विपत् प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । विसं २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा यस प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको देखाइएकोे छ । यसै गरी बाजुरा, बझाङ, बैतडी र अछाम पहिरोको उच्च जोखिममा छन् । कैलाली जिल्लाको पहाडी भूभागसमेत पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ । 

यस वर्षको मनसुनजन्य विपत्बाट अछाममा तीन हजार ६६२, बैतडीमा सात हजार ६८५, बझाङमा चार हजार ३१, बाजुरामा आठ हजार ६३१, डडेलधुरामा सात हजार १०५, दार्चुलामा तीन हजार ३५३ र डोटीमा ११ हजार १८ घरधुरी पहिरोबाट प्रभावित हुन सक्ने जनाइएको छ । 

यस्तै कैलालीमा ४६ हजार ७७३ र कञ्चनपुरमा ५४ हजार ८०२ घरधुरी बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । विगत १० वर्षमा डुबान वा बाढीका १६९ घटना भएका छन् । यसबाट ८० जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते र ६२ जना बेपत्ता भएका थिए ।