• २५ पुस २०८१, बिहिबार

प्रत्येक प्रदेशमा विशेषज्ञ सेवा दिनेबारे सोचिएको छः स्वास्थ्यमन्त्री बस्नेत

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, भदौ ८ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ। 

शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताउनुभयो। उहाँले सरकारले मधेश प्रदेशको वीरगञ्जलाई मिर्गाैला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताउनुभयो। 

त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने काम अगाडि बढिहेको बताउनुभयो। उहाँले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिनेगरी काम अगाडि बढेको र त्यसैको पाइलास्वरुप दुई अस्पतालका बीचमा सहमति आदान प्रदान भएको उल्लेख गर्नुभयो। 

उहाँले यसै अनुरुप अन्य प्रदेशमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। मन्त्री बस्नेतले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानी, प्रदेश राजधानी र केही विकसित सहरहरुमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताउनुभयो। 

उहाँले आज भएको सहमति अनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताउनुभयो। अस्पताललाई पर्ने समस्या समाधानका लागि मन्त्रालय सधै तत्पर रहेको बताउनुभयो।