• १० मंसिर २०८१, सोमबार

अर्को उपाधिको सम्मुख मेस्सी

blog

गोल गरेपछि लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ७ गते । विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको शीर्ष सुचीमा रहनुभएका अर्जेन्टिनका कप्तान लियोनल मेस्सी फेरि अर्को उपाधिको नजिक हुनुहुन्छ ।

चारदिन अघिमात्र अमेरिकी सकर क्लब इन्टर मियामीलाई लिग्स कप–२०२३ को उपाधि दिलाएर फुटबलका सर्वाधिक उपाधि चुम्ने खेलाडी बन्नुभएका मेस्सी पुनः अर्को उपाधिको नजिक रहनुभएको हो ।

मेस्सी प्रेरित मियामी युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा एफसी सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै मियामीले फाइनलमा स्थान बनाएको हो । ३६ वर्षीय मेस्सीले हालसम्म ४४ उपाधि जितिसक्नुभएको छ । यसअघि सर्वाधिक उपाधि जित्ने खेलाडीमा ब्राजिलका ड्यानी अल्भेज हुनुहुन्थ्यो । उहाँले ४३ उपाधि जित्नुभएको थियो ।

दुई दशक समय स्पेनको बार्सिलेनामा बिताउनुभएका मेस्सीले बार्सिलोनाबाट मात्र ३५ उपाधि जित्नुभएको छ । अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि जिताउनुभएका मेस्सीले फुटबलमा जित्न बाँकी सायद कुनै उपाधि छैन । 

युरोपका चर्चित क्लब छाडेर यसै सिजन अमेरिकी क्लब मियामीमा अनुबन्ध हुनुभएका मेस्सीले मियामीमा पनि दमदार प्रदर्शन गरिरहनुभएको छ । युएस ओपन अन्तर्गत बिहीबार राति मियामी र एफसी सिनसिनाटीबीचको खेल निर्धारित सयमा २–२ र अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा मियामी ५–४ ले विजयी भयो ।

टाइब्रेकरमा मियामीका गोलरक्षक ड्राक क्यालेन्डर नायक बन्नुभयो । उहाँले विपक्षी निक हागलुन्डको प्रहार बचाउँदै मियामीलाई लगातार दोस्रो उपाधि नजिक उभ्याउनुभयो । टाइब्रेकरमा मियामीको लागि मेस्ससँगै, फाकुन्डो फरियास, डेविड रुइज, जोसेफ मार्टिनेज र बेन्जामिन क्रामास्चीले गोल गर्नुभयो । एजेन्सी