• २ जेठ २०८२, शुक्रबार

प्रदेश सभा बैठक भदौ १७ गते बस्दै

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ ७ गते । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि भदौ १७ गते बस्ने भएको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सभाको बैठक भदौ १७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो । 

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र आव २०८०/८१ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै गत असार २१ गते अर्को सूचना नभएसम्मका लागि भन्दै बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक स्थागित गर्नुभएको थियो ।

प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न मन्त्रीपरिषद्बाट स्वीकृति प्रदान गरेकाले संशोधनका लागि प्रदेश सभा सचिवालयमा दर्ता गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेस गरिने भएको छ ।