धनगढी समाचारदाता
धनगढी, भदौ ७ गते । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्राकृतिक विपत्का कारण विस्थापित भएकाको उचित व्यवस्थापनको माग गर्नुभएको छ। प्रदेश सभा बैठकको शून्य समय बोल्ने अधिकांश सदस्यले बाढी, पहिरो र डुबानबाट विस्थापितको पुनस्र्थापना तथा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभएको हो।
उहाँहरूले बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ले प्रदेशको विभिन्न जिल्लावासी विस्थापित भई कठिन जीवनयापन गरिरहेको भन्दै छिट्टै व्यवस्थापन गर्न माग गर्नुभएको हो। प्राकृतिक विपत्ले प्रदेश नै आक्रान्त बनेको भन्दै जनधनको नोक्सानी बेहोरेकाहरूलाई उचित राहतको माग गरिएको छ।
प्रदेश सभा सदस्य खिमादेवी विष्टले साउन २२ गतेको पहिरोका कारण कैलालीको चुरे गाउँपालिकाको भ्यागुतेपानी, बन्देगडा, दोगडा, मुरेभावर, सावनीगडाका कैयौँ परिवारको जनजीवन अस्तव्यस्त बनेको बताउनुभयो। विस्थापितहरू वनदेवी जङ्गलमा कष्टपूर्ण अवस्थामा बसिरहेको जानकारी दिँदै उहाँले सरकारले विस्थापितहरूको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश सभा सदस्य चक्र मल्लले बाढी पहिरोका कारण प्रदेश नै अस्तव्यस्त रहेको भन्दै प्रदेश सरकारको खोजी भएको बताउनुभयो। प्राकृतिक विपत्मा परेका जनता गुहार मागिरहेका बेला उनीहरूको आवाज बोल्ने ठाउँ नपाएको गुनासो उहाँले राख्नुभयो।
“यो सरकार जनताको सवालप्रति उदासीन छ,” उहाँले भन्नुभयो, “पहाडमा पहिरोले धेरै बस्ती जोखिममा परिरहँदा तराईमा बाढीको समस्या छ। विभिन्न नदीमा आउने बाढीका कारण बस्तीहरू कटानको जोखिममा परेका छन्।
भजनी क्षेत्रमा बर्सेनि हुँदै आएको डुबान समस्या समाधानका लागि काँढा, कान्द्रा, पथरैयालगायतका नदीमा उच्च तटबन्ध र ड्याम हुनुपर्ने प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताउनुभयो। हुलाकी राजमार्गका पुलपुलेसा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। साउन २२ गतेको पहिरोका कारण राष्ट्रिय राजमार्गसहित अन्य सडक अवरुद्ध भएका छन्। धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) को पहिरोका कारण अवरुद्ध छ। सडक अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन कष्टकर छ। राष्ट्रिय राजमार्गको बुढीतोलाखण्ड पहिरोले गर्दा अवरुद्ध भएपछि जनताले निकै समस्या भोग्नु परिरहेको प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले बताउनुभयो। “भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन नै ठप्प हुने भएकाले वैकल्पिक सडक निर्माण गर्न आवश्यक रहेको प्रदेश सभा सदस्य बहादुरसिंह थापाले बताउनुभयो।”
उहाँले भन्नुभयो, “सातै जिल्लालाई जोड्ने वैकल्पिक राजमार्ग दैजी–जोगबुढा सडक निर्माणलाई चाँडै पूर्णता दिउँ। वनकटी, वनहरा, चौधर, स्याली जस्ता नदीले आफ्नो निर्वाचन क्षेत्रमा ठुलो क्षति गरेको छ यसका लागि सरकारको ध्यान जान जरुरी छ।
डुबानका कारण कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५६५ हेक्टर जमिनमा लगाइएको धान र ५९५ हेक्टर उखु खेतीमा क्षति भएको प्रदेश सभा सदस्य वीरबहादुर थापाले बताउनुभयो। उहाँले पुनर्वास नगरपालिका–२ मा रहेको भागेश्वर सुगर मिलले रसायनयुक्त पानी सिमरी नदीमा मिसाउँदा कृषि बाली, जलचर र मान्छेलाई असर पारेको उल्लेख गर्नुभयो।
उहाँहरूले प्रदेश सभालाई चलायमान बनाउनतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा महिनौ दिनसम्म बन्द रहेको गुनासो उहाँहरूको छ। प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सभालाई सरकारले अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै संसद्को ध्यानाकर्षण गराउनुभयो।