• १० मंसिर २०८१, सोमबार

एन्फाको विशेष साधारण सभा भौतिक उपस्थितिमा गर्न माग

blog

राखेप सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै क्लब सङ्घका प्रतिनिधिहरु ।

काठमाडौं, भदौ ६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आबद्ध लिग खेल्ने विभिन्न ३२ क्लबहरूले एन्फाको भदौ २४ गते बोलाइएको विशेष साधारणसभा भौतिक उपस्थितिमा संचानल गर्न माग गरेका छन् ।

क्लबका प्रतिनिधिहरूले बुधबार एन्फाका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का र महासचिव अरुणमान जोशीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाई यस्तो माग गरेका हुन् । 

एन्फाका निवर्तमान अध्यक्ष एवम् नेपाल फुटबल क्लब सङ्घका अध्यक्ष कर्मा छरिङ शेर्पाको नेतृत्वको टोलीले बुधबार राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टङ्कलाल घिसिङलाई समेत भौतिक रूपमै विशेष साधारणसभा गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 

क्लबहरूको तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा एन्फा विधान को धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन जोडदार माग गरिएको छ । पत्रमा भनिएको छ, ‘‘एन्फाको विधानमा स्पष्ट रूपमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्जुअल बैठक गर्न मिल्ने व्यवस्था भएकोले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषयहरूमा समेत सहज छलफल गर्न पाउने विधानको धारा ३७ (६) सम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ।’’

यसअघि एन्फा कार्यसमितिको साउन १९ को बैठकले लेखा परीक्षक एलएससी एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भैसकेको अवस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्न बोलाइको विशेष साधारणसभाको कुनै औचित्य नभएको समेत क्लबहरूले उल्लेख गरेका छन् । क्लबहरूले एन्फाले क्लबलाई उपलब्ध गराउन बाँकी लिगको तयारी खर्च नदिए एन्फाका कुनै पनि प्रतियोगिता नखेल्ने चेतावनी समेत दिएका छन्।

क्लबका पदाधिकारीले एन्फाले आयोजना गरेको सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको तयारी खर्च विगत लामो समयदेखि क्लबलाई  एन्फाले भुक्तानी नगरेको उल्लेख गरेका छन् । यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीसँग पटक पटक छलफल गरेको उल्लेख गर्दै विभिन्न समयमा क्लबहरूले बक्यौता रकम भुक्तानी सम्बन्धमा पत्राचार गर्दा एन्फा जिम्मेवार नभएको पनि उल्लेख गरेका छन् । 

पत्रमा एन्फा जिम्मेवार नदेखिएकोले अविलम्ब बक्यौता रकम भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण समेत गरिएको छ ।