• ५ जेठ २०८१, शनिबार

बाढी पहिरो उद्धार कार्यमा नेपाली सेना

blog

जोखिमयुक्त ढुङ्गा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याउँदै नेपाली सेना । तस्बिर : नेपाली सेना

काठमाडौं, भदौ ६ गते । नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरूमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । नेपाली सेनाका अनुसार बाढी पहिरोबाट प्रभावित कालिकोट, चितवन, रौतहट र मुगुका विभिन्न स्थानमा उद्धार कार्यलाई निरन्तरता दिएका हुन् ।

कालिकोटको महावै गाउँपालिका–२, रकलवाडा टोलको ५० मिटरमाथि ढुङ्गा भासिन गई सो टोल जोखिममा परेको हुँदा उक्त जोखिमयुक्त ढुङ्गा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याइएको नेपाली सेनाले जनाएको छ ।


यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा माथिबाट सुख्खा पहिरो गई अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सडक डिभिजन कार्यालय तथा अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुचारु गराइएको छ ।


रौतहटको दुर्गाभगवती गाउँपालिका-३, मत्सरीमा बागमती नदीको कटान रोक्न स्थानीयहरूसँगको सहकार्यमा तटबन्ध निर्माण गरिएको छ ।


त्यस्तै, सेनाले मुगुको खत्याड गाउँपालिका–५ स्थित खमाले निवासी २१ वर्षीय स्थानीय महिला छाया नगरपालिका–२ स्थित हुटु ब्यारेक नजिक सिकिस्त बिरामी भएको हुँदा निजलाई जिल्ला अस्पताल गमगढी पुर्‍याएका छन् ।