पुष्कर भण्डारी
डडेल्धुरा, भदौ ६ गते । डिभिजन वन कार्यालय डडेलधुरामा एक साता यता कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
वन कार्यालय पुग्ने सेवाग्राहीलाई काम नभई फर्किनुपरेको छ भने टाढा जोगबुडा क्षेत्रका सेवाग्राही पाँच दिनदेखि काम हुने आशामा जिल्ला सदरमुकाममै बसेका छन् । डिभिजन वन कार्यालयले गत वर्षका योजनाहरूमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि डिभिजन वन अधिकृत रामविचारी ठाकुर सरुवा भई कैलालीको पहलमानपुर जानुभएको छ ।
निमित्त डिभिजन वन अधिकृतमा इलाका वन कार्यालय साँदनीका वन अधिकृत सुरेशचन्द्र डिसी हाजिर हुनुभएको छ । योजना शाखामा ताला लगाई वन अधिकृत कृष्ण बोहरा घर बिदामा बस्दा कामकाज रोकिएको निमित्त डिभिजन वन अधिकृत डिसीले जानकारी दिनुभयो ।
वन अधिकृत बोहरा भदौ ५ गते देखि ८ गते सम्म घरबिदामा बसेको पाइएको जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रशासकीय अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रप्रसाद ओझाले बताउनुभयो । वन कार्यालयको कामकाज ठप्प रहेको जानकारी पाएपछि छड्के अनुगमन गरेको जानकारी दिँदै उहाँले कार्यालय समयमा सेवाग्राहीको काम हुनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार वन अधिकृत बोहरा र रणेन्द्र सिंह घरबिदामा बसेको पाइएको छ भने सुवास कुँवरको साउन २२ गतेदेखि हाजिर नलाएको पाइएको छ । कुँवरको हाजिरीमा भदौ ७ र ८ गते गन्याधुरामा काज लेखिएको भेटिएको उहाँले बताउनुभयो । निमित्त वन अधिकृत डिसीका अनुसार कुँवरले कार्यालयमा कुनै खबर गर्नुभएको छैन ।
परशुराम नगरपालिका–११ को सल्लेरी सामुदायिक वन पलगडीका अध्यक्ष केन्द्रबिन्दु नेपालीले प्रमाणपत्र बनाउन वन कार्यालय पुगेको चार दिन भएको बताउँदै काम नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रमाणपत्र छाप्ने मेसिन योजना शाखामै रहेछ । योजना शाखामा ताला लगाइएको छ । कार्यालय धाएको चार दिन भयो । काम हुन सकेको छैन । होटलमा बस्दा खर्च बढी हुनेगरेको छ ।”
परशुराम नगरपालिका–८ शिद्धनाथ सामुदायिक वन सानखोलाका अध्यक्ष अर्जुनसिंह बोहराले पनि चार दिनदेखि काम नहुँदा होटलमा बस्दा खर्च भएको गुनासो गर्नुभयो । वनबाट काठ आन्तरिक खपतका लागि सिफारिस बनाउन वन कार्यालय आएको उहाँले बताउनुभयो ।
ठेकी, पारालगायतका सामग्री बनाउन आन्तरिक खपतको सिफारिस बनाउन आएको थिएँ । उहाँले भन्नुभयो, “चार दिन भयो । होटलमा बसेको छु । बेखर्चिलो छु । यहाँ काम हुन सकेको छैन । खातामा जमा गर्ने पैसा सकियो ।”