• ५ जेठ २०८१, शनिबार

स्पेनको जितमा नायक ओल्गालाई जब पिताको मृत्युको खबर लुकाइयो

blog

ओल्गा कार्मोना ।

काठमाडौं, भदौ ४ गते । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले बलियो इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गर्नुभएको थियो । टोलीको कप्तानसमेत रहनुभएकी ल्गाको निर्णायक गोलले स्पेन पहिलो पटक विश्वकप च्याम्पियन बन्दा मैदानमा उहाँको खुशीको सीमा थिएन ।

तर, गोल र उपाधिले सिङ्गो विश्वलाई चकित बनाउनुभएकी ओल्गाको खुशी निमेषभरमै सकियो । स्पेनले महिला विश्वकप फुटबलको उपाधि चुमेपछि ओल्गालाई दु:खद समाचार सुनाइयो । जुन समाचार उहाँको पिताको निधनको थियो ।

ओल्गाका पिता जोस भर्डास्को लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । जोसको मृत्यु विश्वकप फाइनलको तीन दिनअघि अर्थात् शुक्रबार नै भएको थियो । तर पिताको मृत्युको खबर ओल्गालाई सुनाइएको थिएन ।

स्पेनले पहिलो पटक विश्वकप चुमेपछि मात्र ओल्गालाई पिता जोसको निधनको अप्रिय खबर सुनाइयो । अनि उहाँको खुसी एक्कासि दुःखमा परिणत भयो । केही समयअघि टोलीका साथीसँग खुसियाली मनाउन व्यस्त ओल्गा तत्काल आँसुको भेलमा रहनुभयो ।

स्पेनिस टोलीको व्यवस्थापनले पिताको निधनको खबर ओल्गालाई सुनाउँदा खेल बिग्रने ठानेर परिवारको सहमतिमै उहाँलाई पिताको खबर बारे जानकारी नदिइएको बताइएको छ ।

‘‘खुशीको क्षणमा एक्कासि पिताको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । मैले तीन दिनपछि थाहा पाएँ । खबरले मलाई सम्हाल्न गाह्रो भयो । मलाई लाग्छ पिताकै आशीर्वादले मैले गोल गर्न सकेकी हुँ । मलाई थाहा छ तपाईंले मेरो खेल हेरिरहनुभएको थियो । मलाई विश्वास छ तपाईंले गौरव पनि महसुस गरिरहनुभएको छ,’’ ओल्गाले भन्नुभएको छ ।

ओल्गा स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । ओल्गाको बुबाको निधनप्रति स्पेनिस फुटबल महासङ्घ र सरकारले गहिराे दु:ख व्यक्त गरेको छ । फुटबल महासङ्घले ओल्गाले स्पेनिस फुटबललाई लगाएको गुन कहिल्यै तिर्न नसक्ने समेत उल्लेख गरेको छ । एजन्सी