• ११ मंसिर २०८१, मङ्गलबार

प्राविधिक शिक्षामा जोड दिँदै पुतलीबजार नगरपालिका

blog

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ ४ गते । पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा(सिभिल सब-इन्जिनियर) पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरपालिकाभित्र प्राविधिक शिक्षामा जोड दिने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । 

नगरप्रमुख तुलसीराम रेग्मीले १४ वटा वडा रहेको नगरपालिका हरेक वडाबाट दुई÷दुई जना छनाेट गरिने बताउनुभयो । नगरपालिकाबाट एसईई उत्तीर्णमध्येका उत्कृष्ट गरिब तथा जेहेन्दार विद्यार्थी पहिलो प्राथमिकतामा राखेर छनाेट गरिने बताउनुभयो । 

कार्यपालिकाको निर्णय अनुसार वडाबाट गरिएको सिफारिसको आधारमा विद्यार्थी पहिचान गरिनेछ । नगरपालिकामा रहेको एक मात्र प्राविधिक शिक्षालय (सिभिल) त्रिभुवन आदर्श नमुना माविमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा लाग्ने रकमको ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्नेछ । 

नमुना विद्यालयमा तीन वर्ष(छ सेमेस्टर) अध्ययन गर्न दुई लाख १० हजार लाग्ने नगरपालिकाले एक लाख पाँच हजार प्रति विद्यार्थी भुक्तानी गर्नेछ । माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियर ४८ जनाले अध्ययन गर्न पाउने बताउनुभयो ।