• ५ जेठ २०८१, शनिबार

तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने

blog

लाखेजात्राको अवसरमा फुटबल प्रतियोगिता ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ४ गते । कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठुलो धनराशि भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ । पाथीभरा गोल्डकपका नाममा खेलाइँदै आएको प्रतियोगिता यस वर्ष ‘ताप्लेजुङ गोल्डकप’ नाम दिएर सञ्चालन गरिने भएको हो । 

हरेक वर्ष लाखेजात्राको अवसरमा सञ्चालन हुने प्रतियोगिता कोभिड महामारीपछि विगत तीन वर्षयता हुन सकेको थिएन । यस वर्ष भने ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन गर्ने सर्वपक्षीय सहमति भएसँगै यही भदौ १४ देखि २० गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो । 

विगतमा झैँ सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता आयोजना हुने भएसँगै हाल खेल मैदान मिलाउने, अस्थायी प्याराफिट (दर्शक दीर्घा) निर्माण गर्ने लगायतका तयारीलाई तीव्र पारिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत गरी आठ टोलीलाई प्रतियोगितामा सहभागी गराइने भएको पनि समितिले जनाएको छ । 

यता प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै, उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउने खेल सञ्चालन समितिले जनाएको छ । जिल्लाकै पुरानो तथा ऐतिहासिक फुटबल प्रतियोगिता विगत २०२९ सालदेखि विभिन्न नामबाट सञ्चालन गरिँदै आएको छ ।