• १४ मंसिर २०८१, शुक्रबार

डाक्टर नहुँदा अस्पतालको सेवा प्रभावित

blog

बेनी समाचारदाता 

म्याग्दी, भदौ ३ गते । म्याग्दीको बेनी अस्पतालमा डाक्टरलगायत अन्य स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। दैनिक तीन सयभन्दा बढी बिरामी आउने र भर्ना भएर उपचार गर्ने बिरामीको सङ्ख्या पनि त्यस्तै हुँदा न्यून सङ्ख्याका डाक्टर आफैँ बिरामी पर्ने अवस्थामा पुगेका छन्।

दैनिक रूपमा इमर्जेन्सी तथा ओपिडीमा तीन सयको हाराहारीमा बिरामी आउने बेनी अस्पतालमा स्थायी दरबन्दीका दुई जना मात्रै डाक्टरले सेवा दिइरहेका छन्। बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अञ्जु थापा भन्नुहुन्छ, “बिरामीको चाप उच्च छ, त्यसमाथि कर्मचारी नहुँदा निकै गाह्रो भएको छ।” ५० शय्याको अस्पतालमा दरबन्दी दुई जना मात्रै डाक्टरले सेवा दिन निकै सकस भएको उहाँको भनाइ छ। 

उहाँका अनुसार प्रदेशको करार दरबन्दीबाट गत आर्थिक वर्षमा करारमा आएका १३ जना स्वास्थ्यकर्मीको करार अवधि सकिएको छ। आमा सुरक्षा कार्यक्रमबाट आएका तीन जनाको पनि करार सकिएपछि अस्पतालबाट बाहिरिए जसले गर्दा  अस्पताल सञ्चालनमै निकै समस्या भएको उहाँले बताउनुभयो।  

आव २०७९/८० को प्रदेश करार सम्झौता अन्तर्गत कार्यरत रहेका स्वास्थ्यकर्मीको नयाँ आवका लागि प्रदेशबाट म्याद थप भएको छैन। यसले गर्दा इमर्जेन्सी, ल्याब, इन्डोर वार्ड, डायलासिसलगायतका नियमित सेवासमेत प्रभावित भएको अस्पतालले सूचना प्रकाशन गरी जनाएको छ। अस्पताल प्रशासनले सूचना प्रकाशन गरेर नियमित तथा निरन्तर सेवा प्रवाहमा असहजता तथा कठिनाइ आइपर्ने भएकाले सेवाग्राहीमा असुविधा पर्न सक्ने भन्दै सचेत गराएको हो। 

अहिले अस्पतालमा दरबन्दीका दुईसहित अन्य स्रोतबाट चार जना रेजिडेन्ट, तीन जना कन्सल्टेन्ट र पाँच जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। स्थायी दरबन्दीका डाक्टर भारती मेहतालाई पनि प्रदेश सरकारले मनाङ पठाएको छ। 

भएकालाई पनि प्रदेशले अन्यत्र पठाउने गर्दा अस्पतालको सेवा नै ठप्प हुने अवस्था सिर्जना हुन लागेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन्। 

बढे भाइरल ज्वरोका बिरामी 

बेनी अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ। पछिल्लो एक हप्तामा ज्वरोका एक हजार ४७० बिरामी बेनी अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आएका छन्। 

बेनी अस्पतालले दिएको जानकारी अनुसार आइतबार २८२ जना, सोमबार २४६, मङ्गलबार २८०, बुधबार २३७ र बिहीबार १७६ जना र शुक्रबार २४९ जना बिरामीले बहिरङ्ग विभाग (ओपिडी) सेवा लिएका छन्। बहिरङ्ग विभाग (ओपिडी) मा सेवा लिन आउने अधिकांशमा भाइरल इन्फेक्सन, ज्वरो, टाउको दुख्ने तथा आँखासम्बन्धी रोगका बिरामी आउने गरेको छन्।